
काठमाडौं, २८ चैत । बिगत २५ वर्षदेखि अमेरिकामा बस्दै आएका नेपाली भाषा, साहित्य, कला, सँस्कृति, गीत संगीतकाे उत्थानका लागि निरन्तर कर्ममा लागिरहेका गीतकार, गायक, संगीतकार तथा साहित्यकार महेश्वर पन्तको नयाँ माैलिक लाेकगीत “सुनको धारो चाँदीको पधेँरो” काे भिडियो सार्वजनिक भएको छ ।
गीतकार पन्तको लेखन तथा लय संकलनमा रहेको गीतमा खेम सेन्चुरी र समीक्षा अधिकारीको स्वर रहेको छ । कोरस स्वरमा सागर बाजुराली, राजेन्द्र बाजुराली, रुपि सिंजाली मगर, ज्ञानु परियार रहेका छन् । गीतलाई सागर बाजुरालीले रेकर्ड गरेका हुन् भने खड्क बाजुरालीले मास्टरिङ तथा मिक्सिङ गरेका हुन् ।
गीतका केही मुख्य अंशहरू:-
(खेम सेन्चुरी) अमेरिकाको ग्रिन कार्ड नभई जान्न भन्थ्यौ मेरा बाबु ,अमेरिकाको ग्रिन कार्ड नभई जान्न भन्थ्यौ, यत्रो वर्ष गैगो कान्छी अब के गफ दिन्छौ, बाँचे त बाँचे त देखिँदो रैछ सुनको धारो यो चाँदीको पधेरो आमा सानीमा… आमा सानीमा, फूलको थुङ्गा खस्यो पानीमा
(समीक्षा अधिकारी) बसुँ बरु झुलाएर माइती घरकै झोला, बसुँ बरु झुलाएर माइती घरकै झोला ज्यान गए नि हेरिँदैन छिपिएको मुला, बाँचे त देखिँदो रैछ सुनको धारो यो चाँदीको पधेरो, आमा सानीमा… आमा सानीमा, फूलको थुङ्गा खस्यो पानीमा………
पछिल्लो समयका चर्चित लोक दोहोरी गायक खेम सेन्चुरी र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘सुनको धारो चाँदीको पधेरो’ वैदेशिक रोजगारीको मोह र गाउँघरको ठट्यौली प्रेमलाई समेटेर तयार पारिएको छ । यो गीतको म्युजिक भिडियोले दर्शकको ध्यान तानेको छ ।
विशेषगरी अमेरिका जाने र ‘ग्रिन कार्ड’ प्राप्त गर्ने सपनाका कारण युवापुस्तामा देखिएको विदेश मोह र त्यसले सामाजिक सम्बन्धमा पारेको प्रभावलाई गीतमा रोचक संवादका माध्यमबाट प्रस्तुत गरिएको छ । गीतमा खेम सेन्चुरीले विदेश जाने सपना बुन्दाबुन्दै उमेर ढल्केको भन्दै युवतीलाई जिस्काएका छन् भने समीक्षा अधिकारीले पनि उत्तिकै कडा जवाफ फर्काएकी छन् ।
गीतको मुख्य भावमा भनिएको छ– अमेरिकाको ग्रिन कार्ड नभई जान्न भन्थ्यौ, यत्रो वर्ष गैगो कान्छी अब के गफ दिन्छौ । यसले नेपाली समाजमा व्याप्त विदेश जाने होडबाजी र त्यसले ल्याउने व्यक्तिगत तथा सामाजिक परिवर्तनलाई व्यङ्ग्यात्मक शैलीमा चित्रण गरेको छ । युवतीले पनि माइतीमै बसेर समय बिताउने तर ‘छिपिएको मुला’ (पाको पुरुष) सँग विवाह नगर्ने भन्दै दोहोरीलाई थप रोचक बनाएकी छन् ।
शिव विककाे निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र प्रभात पल ठकुरीको जीवन्त अभिनय देख्न सकिन्छ । गीतमा गाउँले परिवेश, आपसी ठट्टा र अन्ततः आफ्नै थातथलोमा घरबार जोड्ने कुरालाई सकारात्मक रूपमा प्रस्तुत गरिएको छ ।
यो गीतले वैदेशिक रोजगारीका नाममा युवाहरूले गुमाएको समय र आफ्नै देशमा रहेका अवसरहरूलाई प्रतीकात्मक रूपमा ‘सुनको धारो’ र ‘चाँदीको पधेरो’ सँग तुलना गरेको छ । श्रष्टा महेश्वर पन्तकाे अफिसियल युट्युवबाट सार्वजनिक भएको गीतले छोटो समयमै धेरैले मन पराएका छन् ।
गीतको भिडियो निर्देशकमा शिव विक रहेका छन् । अभिनयमा अञ्जली अधिकारी र प्रभातपल ठकुरी रहेका छन् । कलाकार, साहित्यकार रमेश दाहाल, गीतकार महेश्वर पन्त रहेका छन् ।
गीतको म्युजिक भिडियो नेपाली लोक संस्कृतिका शिखर पुरुष, संस्कृतिविद् कालीभक्त पन्तका नाममा स्थापित कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले उत्पादन गरेको हो । जसको प्रस्तुतकर्तामा श्रष्टा महेश्वर पन्त रहेका छन् ।
भिडियोको सार्वजनिकिकरण कार्यक्रममा प्रमुख अतिथि अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी,
धर्मराज स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापा लगायतले मौलीक नेपाली गीत ल्याएकोमा पन्तलाई वधाई दिदैं यसले सर्वत्र चर्चा र सबैको मन छुनेमा ढुक्क भएको बताए ।
कलाकार रमेश दाहाल, अनेसास सिक्किम च्याप्टरकी सदस्य विष्णुमाया कट्टेल राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले लोकगीत, संगीत, नेपाली साहित्य तथा संस्कृतिलाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

























