पोखरा, २२ कार्तिक । गीतकार सुरज उपाध्यायको रचना, गायक, संगीतकार विनोद बानियाको स्वरमा रहेको “यहीँ दुःख गरम्ला” गीतको म्युजिक भिडियो शनिबार पोखरामा सार्वजनिक गरिएको छ ।

गीतकार प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बिक्रम कार्किद्वारा प्रस्तुत गीतको म्युजिक भिडियोको प्रमुख अतिथि संस्कृतिकर्मि तीर्थ श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

सो अवसरमा श्रेष्ठले गीत लेखन, संगीत र स्वर अनि त्यसपछिका कामका लागि अनेक कष्ट भोग्नै पर्नै बाध्यता रहेको र अनि आउने प्रतिफल राम्रो हुने बताए ।

श्रेष्ठले भने, मैले देखेका र अनुभव गरेका गीतकार सुरज तथा गायक, संगीतकार बानिया खोलामा गएर पानी पिएर आउने खालका होईनन् । उनीहरु खेलाको पानीलाई पाईपमार्फत ल्याएर अरुलाई पानी पिलाउने मान्छे हुन् ।

मलाई लेखन कलामा लय मन पर्छ । अँझ गीतमा त लय हुनै पर्यो । गीत लेखनमा लय र चिन्तन् मनन् पनि हुन्छ । संगीतकारसंग पुगेपछि शव्दको भाव अनुसारको लय वा संगीतले न्याय गर्नुपर्छ । त्यसपछि आवाजको जादु नै लगाएर गाईदिन्छन् गायकले ।

यहीँ दुःख गरम्ला यो गीतले महत्वपूर्ण सन्देश बोकेको छ । अहिले विदेशीने क्रम रोकिएको छैन बरु बढेको छ । विदेशीनुका पनि बाध्यता, कष्ट र विविध कठिनाईहरु छन् । यो अवस्थामा पनि यहीँ बसेर केही गर्नका लागि गीत अनि भिडियाेले उत्प्रेरणा जगाएको श्रेष्ठले बताए ।

कार्यक्रममा कलाकार, अभिनेता अनुप वराल, प्रकाश घिमिरेले गीतले आफ्नै कथा बोकेको र मन छुने खालको बनेको बताए । उनीहरुले आफुहरु पनि कलाकारिताका क्षेत्रमा काम गरिरहेकोले के गर्न सकिन्छ सहकार्यका लागि तयार रहेको बताए ।

गीतकार सुरज उपाध्यायले ८ वर्ष अगाडी लेखिएको गीतको म्युजिक भिडियो ल्याउनुमा गायक, संगीतकार बानिया र समग्र टीमको मेहनत लागेको बताए । शुरुमा मैले छोरि मान्छेले गाउनेगरी गीत लेखेको हुँ । जाे मैले फेसबुकमा पोष्ट गरेको थिएँ । गीत विनोद जीको नजर परेपछि उहाँले मलाइ गाउँ मन पर्यो भनेर भन्नु भयो । तर उहाँले गीतलाई पुरुष आवाजमा ल्याउन चाहेपछि सामान्य परिमार्जन गरिएको बताए ।

गायक, संगीतकार विनोद बानियाले हालसम्म विभिन्न प्रकृतिका गीतहरु गाएको बताए । कति गीतहरु मनोरञ्जनका लागि मात्रै छन् भने कतिपय गीतले सामाजिक मनोभावलाई उजागर गरेको बताए । पार्वती गीत, यहीँ दुःख गरम्ला वा खेलकुदका विशेष गीतहरुमा काम गरेको चर्चा गरे । बानियाले भने, हामी एक्लैले केहि हुँदैन । यहाँ सबैको व्यथा उस्तै उस्तै छ । केहि गर्नका लागि मेहनत वा कष्टहरुको सामना गर्नैपर्छ । पछिल्लो यो गीतले विदेशभन्दा स्वदेशमै केहि गर्नका लागि सन्देश बोकेको बताए ।

भिडियोका निर्देशक नेत्र गुरुङले रचनाकार र शव्दहरुको मुड, संगीतकार र गायनको मुड अनुसार छायांकनमा ध्यान पुर्याईएको बकताए ।

यसअघि कार्यक्रमका सहभागिहरुलाई गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले स्वागत गर्दै आफ्नो कार्यकाल शुरु भएको केहि दिनमै म्युजिक भिडियो सार्वजनिक गर्ने अवसर पाउनु सुखद् संयोग परेको बताए । उनले आगामी दिनहरुमा गीत वाचनका कार्यक्रमहरु गर्ने, गीतकार, गायक, संगीतकारलाई एकै ठाउँमा रारखेर विवेचना गर्ने र सामुहिक गीत वाचनका श्रृंखलाहरु गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रम गीतकार प्रतिष्ठानकाका सचिव रुपिन्द्र प्रभावि जोशीले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0