पोखरा ,माघ २२
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनमा अध्यक्षमा पराजित भएका पूर्ण परियारले प्रेस विज्ञप्ती प्रकाशित गरी नयाँ कार्यसमितिलाई बधाइ दिएका छन् । बागलुङ जन्मथलो भएका परियार अधिवेशनमा ५ मतान्तरले पराजित भएका थिए । विज्ञप्ती मार्फत उनले आफ्ना मनका केही भनाई बाहिर ल्याएका छन् । लोकतान्त्रिक पद्धती मार्फत भएको निवार्चन मार्फत आएको परिणाम सहर्ष स्वीकार गर्दै उनले केही वाचा समेत गरेका छन्।
विज्ञप्तीमा उनी लेख्छन्–प्रतिष्ठान गण्डकी प्रदेशको दोश्रो अधिबेशनमा वरियताको आधारमा मेरो उम्मेदवारी अध्यक्ष पदमा रहेको थियो । मेरो उम्मेदवारी वरियतामा मात्रै नभएर मेरो लामो सिकाईलाई संस्थागत विकास र सुदृढीकरणका लागि थियो र उक्त उद्देश्य लक्षित आदरणीय प्रतिनिधि ज्युहरुले देखाउनु भएको अमुल्य माया, प्रेरणा उत्साहलाई सम्झेर अहिले पनि म गद्गद् छु।
सर्वसहमतिको प्रयास लगभग सफल भएको थियो अध्यक्ष पदका अर्का आकाँक्षी मेरा मित्रले मलाई अध्यक्ष पदमा स्वीकार्नु भएकै थियो उहांको सद्भावप्रती फेरि पनि कृतज्ञता ज्ञापन गर्दछु । जो जसलाई सर्वसहमतिको निर्णयले चित्त बुझ्न सकेन र हामीलाई निर्वाचनमा होमिन बाध्य तुल्याउनु भयो उहाँहरुप्रती भन्नू केही पनि छैन, यो सबै समयले निर्णय गर्नेछ ।
यो अधिबेशनमा, शिरमा मेरो संस्था थियो भने हस्पिटलको आइ. सि. यु. कक्षमा मेरो मुटुको टुक्रा कान्छी छोरी उपचाररत थिइन । म अन्योलमा थिएँ कुन कुरालाई प्रथामिकता दिने ! मनमा पीडा बोकेर छोरीलाई हस्पिटलको बेडमा छोडेर म चुनावी मैदानमा आउँदै गर्दा मैले हजुरहरुलाइ धेरै नजिक आएर नमस्ते गर्न पनि सकिरहेको थिइन । फेरि पनि मेरो योगदानको कदर गर्दै रातैभरी अनिंदो लाइनमा बसेर मलाई मतदान गर्नु हुने हजुरहरुले सांच्चिकै ठूलो गुण लगाउनु भएको छ ।
३ मत रद्द भएर जम्मा ५ मतले म बिजयी बन्नबाट बन्चित भएं मलाई थाहा छ मेरो पराजयले यहांहरुलाई दुखित बनाएको छ यद्यपि एउटा ठूलो शक्ति बिरुद्धको यहांहरुको चुनौती ऐतिहसिक र सम्मान योग्य छ । विजयी मेरा मित्रलाई विजयको माला पहिराएर म हाँस्दै बाहिर निस्किँदा मेरा शुभेच्छुक ज्युहरु रुँदै निस्किनु भएको दृश्य मेरो मानसपटलबाट कहिल्यै टाढा भाग्ने छैन ।
प्रतिष्ठान निर्माणमा बिगत २०६४ साल भाद्र १५ गते देखिको यात्रामा २ कार्यकाल प्रतिष्ठान बागलुङको जिल्ला सचिव, १ कार्यकाल बागलुङ जिल्ला अध्यक्ष, २ बर्ष धौलागिरी अञ्चल महासचिव १ बर्ष गण्डकी प्रदेश संस्थापक सचिव र १ कार्यकाल गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्ष हुंदै यहाँसम्म आउंदा आदरणीय अग्रजहरुको मार्गदर्शन सहितको आशीर्वाद, समकालीनहरुको साथ एवम् अनुजहरुको सम्मानले जीवनको उर्जाशिल समय प्रतिष्ठानमा बितेको पत्तै नपाएको उनले बताएका छन् ।
परियारले प्रतिष्ठान निर्माणमा आफू सदैव तल्लिन रहेन वाचा गरेका छन् । उनी भन्छन– हजुरहरुले दिनु भएको अपार माया मन भरी साँचेर राख्दै प्रतिष्ठान निर्माणमा सदैब तल्लिन रहने प्रतिबद्धता व्यक्त गर्दछु । विजयी अध्यक्ष सहित सम्पूर्ण नव निर्वाचित कार्यसमितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु । मेरा पक्षमा उभिनु हुने आदरणीय अग्रजदेखी समकालीन, जिल्ला अध्यक्ष ज्युहरु एवम् प्रतिनिधि, पर्यवेक्षक ज्युहरुलाई उच्च सम्मान सहित धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु । जय लोकदोहोरी ! जय लोक तथा दोहोरीगीत प्रतिष्ठान !
