राजाराम पौडेल, पोखरा, १० माघ
रुपन्देहीकी एशिका गुरुङले एकल गुरुङ (गीत) नृत्य प्रतियोगीताको उपाधि जित्न सफल भएकी छन् । स्टार्स स्टुडियो प्रा.लि. र स्टार्स फाउण्डेशन नेपालले पोखरामा आयोजना गरेको प्रतियोगिताको फाइनलमा पुगेका १५ जना मध्ये अब्बल बन्दै एशिकाले उपाधि हात पारेकी हुन्।
विजेता बनेकी एशिकाले ३० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् । प्रतियोगीतामा पाल्पाका सन्तोष थापा फस्ट रनर्सअप बन्दै २० हजार रुपैयाँ नगद हात पारें । सेकेन्ड रनर्सअप बनेकी कास्कीकी श्रव्या गुरुङले १० हजार रुपैयाँ पाइन् ।
यसैगरी प्रतियोगिताको फाइनलमा पुगेका कास्कीका मोनिका मगर, रितिका गुरुङ, सुयान्सा गुरुङ, अर्चना गुरुङ, जस्मिन गुरुङ र स्नेहा गुरुङ, एअओएसकी आयुष्मा नेपाली, हिमाली बाल संरक्षण मंचकी जेनिशा गुरुङ, लमजुङका सुमित्रा ह्योल्मो लामा र मनकाशी गुरुङ तथा स्याङजाका रितिशा गुरुङ र बाबु गुरुङले विधागत पुरस्कार प्राप्त गरें । प्रतियोगिताको निर्णायकमा मनाङ गुरुङ, कृष्ण कुमारी घले र राज बहादुर गुरुङ रहेका थिए ।
विजेतालाई गुरुङ फिल्म एशोशिएशन नेपालका पूर्व अध्यक्ष समेत रहेका गण्डकी प्रदेशका सांसद वेद बहादुर गुरुङ श्याम, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, तमुधीं युकेका अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष हितकाजी गुरुङ लगायतले प्रदान गरेका थिए ।नेपाली मौलिक लोक संस्कृतिको संरक्षण गर्नको लागि यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताए । तमु ल्होसारको अवसरमा आयोजना गरिएको प्रतियोगितामा कुल ५३ जना प्रतिभाले अनलाइन मार्फत सहभागीता जनाएका थिए।
यसैगरी स्टार्स स्टुडियोमा प्रबन्धक एवम स्टार्स फाउन्डेसन नेपालकी अध्यक्ष जसु गुरुङले आफ्नो आमाको स्मृतिमा स्थापना गरेको स्व.तिल माया गुरुङ स्मृति सम्मान पुरस्कार–२०७९ गीतकार एकेन्द्र गुरुङलाई तथा स्टार्स समाजसेवा पुरस्कार–२०७९ समाजसेवी गिभिना मगरलाई प्रदान गरियो । दुवैलाई जनही १० हजार ५० रुपैयाँ नगद सहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा बेलायतबाट नेपाल भ्रमणका आएका तमुधीं युकेको टोलीलाई स्वागत तथा सम्मान समेत गरियो ।
न्यु एरा पार्टी प्यालेस जिरो किमी पोखरामा आयोजित फाइनल कार्यक्रमको थप आर्कषणमा उषा गुरुङ र राज बहादुर गुरुङको गायन प्रस्तुती, तथा अन्जना गुरुङ, ओशिका गुरुङ र जमुना गुरुङको नृत्य प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शान्ती गुरुङले गरेकी थिइन् ।
स्टार्स स्टुडियो तथा स्टार्स फाउन्डेसन नेपालले स्थापनाकालदेखि निरन्तर रुपमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । यस्ता कार्यक्रम मार्फत नयाँ प्रतिभाले अवसर पाइरहेका छन् । स्टार्स स्टुडियो नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशिल संस्था हो । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातीको मौलिक भेषभुषाको संरक्षणको क्षेत्रमा यसले काम गरिरहेको छ । अर्को आयोजक स्टार्स फाउन्डेसन नेपाल भने नेपालको मौलीक नृत्यको प्रर्वद्धनका लागि स्थापना भएको संस्था हो ।
