पोखरा, ८ माघ,
गण्डकी विश्वविद्यालयको आयोजनामा प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता –२०७९ हुने भएको छ । आयोजक गण्डकी विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट हुन लागेको जानकारी गराएको हो ।
माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका संयोजक डा. मधुसुदन सुवेदीले बताए ।

प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको डिग्री कार्यक्रमको समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन संकायको संयोजक सुवेदीले बताए ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू नकआउट चरणमा हुनेछन् । माघ ९ गतेबाट सुरु हुने प्रतियोगिताका सेमिफाइनलको खेल माघ १२ गते र फाइनल खेल माघ १३ गते हुने आयोजकले जनाएको छ । पहिलो खेल र फाइनल खेल पोखरा रंगशालाभित्रको गाउण्डमा हुनेछ भने बाँकी खेल पोखरा रंगशाला बाहिरको गाउण्डमा हुनेछ ।

उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक सुवेदीले बताए । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।

विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ।

विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिरहेको संयोजक मधुसुदन सुवेदीले बताए ।समग्र खेलकुदको विकास, सम्बर्धन, प्रबर्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउने उद्देश्यले विश्वविद्यालयले उक्त प्रतियोगिता आयोजना गरेको विश्वविद्यालयको रजिष्टार कैलाश तिमिल्सिनाले बताए।

२०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ ।
नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0