पोखरा, माघ ७
पोखरा बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा नरेन्द्रमान लालचन चयन भएका छन् । लालचनको यो दोश्रो कार्यकाल हो । नयाँ कार्यसमिति आठ सदस्यीय छ । सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
शनिबार भएको क्याम्पसको ३६औं साधारणसभा तथा सातौ अधिवेशनले कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अवधि तीनवर्षको हुन्छ । कार्यसमितिमा अध्यक्ष लालचन सहित अरु सातजना सदस्य छन् । अध्यक्ष लालचनले बाँकी सदस्यलाई पदाधिकारी चयन गर्नेछन् ।
चुनिएका सदस्यहरुमा भीम गौतम, शंकर गुरुङ, बद्री श्रेष्ठ, कुमारी मुना बाँस्तोला, सोजन शेरचन, प्रकाश पहारी र उमा ठकुरी रहेका छन् । यो पोखराकै सबैभन्दा पुरानो सामुदायिक क्याम्पस हो । २०४४ सालमा पोखराको टुँडीखेलमा स्थापित यो क्याम्पस नयाँबजार हुँदै अहिले पृथ्वीचोक नजिकै शान्तिवनमा सरेको छ । हालैमात्र नयाँ भवन बनाएर यो क्याम्पस नयाँबजारबाट शान्तिवन झरेको हो । क्याम्पसले सहयोग उठाएरै करिब ५ करोड रुपैयाँ लागतमा सुविधासम्पन्न भवन तयार पारेको थियो ।
साधारणसभाको पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले उद्घाटन गरे । जसी नै मेयर रहँदा महानगरले उपलब्ध गराएको जग्गामा क्याम्पसले सहयोग उठाएर भवन तयार पारेको थियो । नयाँ भवनमा गत मंसिर मध्यदेखि अध्यापन गराईरहेको छ ।
क्याम्पस साधारणसभामा बोल्दै संचालक समितिका उपाध्यक्ष भीम गौतमले क्याम्पसले क्यूएए पाउने तयारीमा रहेको जानकारी दिए । प्राध्यापक संघका सभापति हस्तबहादुर थापा ३६ वर्ष पछि क्याम्पसले आफ्नै भवन बनाएकोमा खुसी साट्न पाएको बताए । विभिन्न अप्ठ्यारोबीच पनि पोखरा महानगरले जग्गा उपलब्ध गराएको उनले बताए ।
‘खुला रुपमा चन्दा पाएर क्याम्पस भवन तयार भएको हो ।
पुर्वाधार अभावमा कार्यक्रम बिस्तार गर्न गाह्रो भएको थियो । तीनवर्षभित्र जग्गा पाएर भवन तयार भएको छ,’ उनले भने, ‘अझै पनि संरचना आवश्यक छन् । ती संरचना तयार भएपछि बल्ल क्याम्पस पूर्ण हुनेछ ।’ नयाँ कार्यक्रम बिस्तार गर्नका लागि अझै पुर्वाधार चाहिएको उनले बताए ।
क्याम्पसका पुर्व प्रमुख प्राडा यादव गौडेलले बिगतको आरोह अबरोहका बाबजुत क्याम्पस तयार भएको र क्याम्पसका आवश्यकता आगामि दिनमा अझै बढ्ने बताए । क्याम्पसका त्रिबि प्रतिनिधि तेजनारायण अधिकारिले क्यूएए पाएपछि क्याम्पस अझै अब्बल हुने बताए । उनले अहिले भएका कार्यक्रमलाई अझ वृद्धि गर्न सुुझाए ।
समाजसेवी विश्व शाक्यले क्याम्पस भवन बनाउन जग्गा उपलब्ध गराउने पोखरा महानगर र निर्माण समितिको सक्रियताका कारण कामले पूर्णता पाएको बताए । ‘जग्गा दिने र लिने दुवैको संकल्पका कारण क्याम्पसले पूर्वाधार बनाउन सक्यो । भवन भएर मात्र संकल्प पूरा हुदैन अब आगामी दिनमा संस्थालाई बृहत बनाउनु पर्छ,’ उनले भने ।
सस्थापक संचालक समिति सदस्य आनन्दराज मुल्मीले पछिल्लो समय मुलुकको शिक्षा कहाँ जादैँछ भन्ने थाहा नभएको बताए । शिक्षा निरन्तर अन्योलको विषय बनेको उनले बताए ।
पोखरा शिक्षा क्षेत्रमा उत्कृष्ट सहर बन्नुपर्ने भएपनि त्यो हुन नसकेकोमा मुल्मीको चिन्ता थियो । ‘पोखरा जिवन्त सहर बन्नको लागि बहस नै चलेन । शिक्षाको स्तरमा पोखरा कहाँ छ भनेर हामिले चिन्ता लिएनौ । पोखरा शिक्षाको लागि उत्कृष्ट भनेर भन्न सकेनौ,’ मुल्मीले भने, ‘जिवन्त सहरमा शिक्षाको बहस हुनु पर्ने हो तर त्यो बहस छैन । शैक्षिक उन्नयनका लागि पोखरामा चिन्ता कम छ ।’
पोखरा महानगरका पूर्व प्रमुख मानबहादुर जिसीले शिक्षा पूर्वाधार सरस्वतीको मन्दिर भएकोले त्यस्ता मन्दिर बनाउन सबैको सहयोग चाहिने बताए । उनले कोभिडको अप्ठ्यारोमा पनि काम गरेर नमूना देखाएको बताए । उनले क्याम्पसलाई गण्डकीको शिक्षा केन्द्र बनाउन सकिने बताए । ‘आम रुपमा सहयोग आव्हान गरेर क्याम्पसलाई थप बलियो बनाउनुपर्छ । सबैको पहुँचमा यो क्याम्पस बन्नुपर्छ,’ उनले भने ।
क्यापस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक क्याम्पस सबैको साझा सम्पत्ति भएकोले यसको उन्नतीमा पोखरा जाग्नुपर्ने बताए ।क्याम्पस प्रमुख शिशुकला पराजुलीले कोभिडको मारमा परेको अवस्थामा पनि पूर्वाधार तयार पार्न सकेको बताईन ।
कोरोनाको मारमा परेको अप्ठेरो समयमा पनि काम गर्न सकेको उनले बताईन । ‘कतिपय गाह्रो थियो । तर, पनि पूर्वाधार तयार भयो,’ उनले भनिन । उनले आगामि दिनमा होस्टेल बनाउने क्याम्पसको योजना रहेको र त्यसका लागि सहयोग जुटाउन खोजेको बताईन । यो क्याम्पसमा अहिले स्नातक तहमा अध्यापन हुन्छ । व्यवस्थापन र मानविकी संकायमा चारवर्षे बिबिएस र बिएमा अध्यापन हुन्छ ।
