तनहुँ ३० साउन/ पृथ्वी राजमार्गको सडक विस्तारको काम भइरहेको छ । सडक चार लेन विस्तारका क्रममा राजमार्गको यात्रा गर्दा यात्रुले सास्ती भोग्नु परेको छ । पोखरा–मुग्लिन सडकअन्तर्गत करिब ९० किलोमिटरमध्ये पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको छ ।
यस सडकको निर्माण कछुवा गतिमा भएको छ । सडक विस्तारले आँबुखैरेनीदेखि पोखरासम्मको बाटो छिचोल्न यात्रुलाई निकै सास्ती हुने गरेको छ । सडकका विभिन्न स्थानमा ढुङ्गा, माटो हुँदा यात्रा सकसपूर्ण हुने गरेको छ । सडक छेउबाट पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको व्यास नगरपालिका–१२ का तारा पन्थले बताउनुभयो । उहाँका अनुसार यस सडक छेउमा घर भएकाले केही कामका लागि निस्कँदा पनि सास्ती खेप्नुपर्ने अवस्था छ ।
“राजमार्गकै बाटो भएर बारीसम्म पुग्न पनि सकस छ, दैनिक रुपमा यस मार्ग हुँदै अध्यापनका लागि विद्यालयसम्म पुग्न सास्ती भएको छ, घाम लागे धुलो, पानी परे हिलोले यात्रा गर्न कठिन छ”, पन्थले भन्नुभयो ।
ग१ख ७२५७ नं बसका चालक विशाल लामाले पोखरा–नारायणगढसम्म सडक विस्तारको सास्ती भोग्दै दैनिक यात्रु बोकेर यात्रा गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “असाध्यै गाह्रोका साथ यात्रा गर्नुपर्छ, सडक विस्तारको जिम्मा लिएको कम्पनीले सामग्री जथाभावी राखिदिँदा समस्या भएको छ ।” पहिले मुग्लिनमा पहिरा खस्छ भन्ने चिन्ता हुने गरेको प्रसङ्ग सुनाउँदै उहाँले अहिले पृथ्वी राजमार्गकै तनहुँ खण्डको अवस्था त्यस्तै रहेको बताउनुभयो । केही मात्रामा निर्माण कम्पनीले व्यवस्थापनका काम गरिदिए यात्रा सहज हुने लामाले बताउनुभयो ।
ग२प ९९० नं बसका चालक आशिष श्रेष्ठले दैनिक रुपमा तीन पटकसम्म यात्रु बोक्ने गरेकामा अहिले एक पटक यात्रा गर्न पनि सकस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विस्तारका क्रममा भएका ठूला खाल्डाखुल्डीको व्यवस्थापन गरिदिए यात्रा गर्न सहज हुने थियो, ठूला खाल्डाखुल्डीले गर्दा बसको कतिबेला पट्टा भाँचिन्छ र यात्रा बीचैमा रोकिन्छ भन्दै यात्रा गर्नुपर्ने अवस्था छ, निर्माण कम्पनीले त्यसतर्फ ध्यान दिए पुग्थ्यो ।” साना सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसाधन चलाउन बढी समस्या भएको उहाँको भनाइ छ ।
निर्माण पक्षले यस सडकको यात्रा सहजताका लागि समयमै काम गरिदिए यात्रुले भोग्नु परेका समस्या समाधान हुने थियो । कतिपय स्थानमा ठूला सवारीसाधन सडक पार गर्न सक्छन् भने साना तथा दुईपाङ्ग्रे सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था नै छैन । खाल्डो पार गर्ने क्रममा दुर्घटना हुने गरेको छ ।
बर्सातको समय भएकाले यस सडकमार्फत यात्रा गर्दा अधिकांश स्थानमा पहिरा खस्ने गरेको छ । लामो समयसम्म आधा बाटोमै रोकिनुपर्ने अवस्था छ । हाल पहिराका कारण केही स्थानमा एकतर्फी मात्रै सडक सञ्चालनमा छ । पूर्वी खण्डको २०७७ माघ १७ गते सम्झौता भएको थियो । उक्त खण्डको २०७८ वैशाख २ गतदेखि निर्माण सुरु भएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
