राजाराम पौडेल , पोखरा २० पौष
आठौं संस्करणको नेपाल गोल्डेन आइडलको फाइनल प्रतिष्पर्धा पोखरामा हुने भएको छ। आयोजक गोल्डेन स्टार मल्टिमिडियाले दिएको जानकारी अनुसार पौष २२ गते शुक्रबार पोखरा सभागृह हलमा भव्य कार्यक्रमको आयोजना गरेर विजेता छनोट गरिनेछ ।
गायन र नृत्यतर्फ गरेर कुल ८ जना प्रतिष्पर्धीबिच उपाधिको लागि भिडन्त हुनेछ । यसरी उत्कृष्ट आठमा पुग्नेमा सप्तरी फत्तेपुरकी सध्या पौडेल, झापाका लोमस भत्त, धरानका उत्तम लिम्बु, दार्जलीङका रवी खाती, म्याग्दीका प्रकाश सुनार, काठमाण्डौका आदित्य थापा, चितवनका विज्ञान क्षेत्री र पूर्णीमा थापा रहेको कार्यक्रम निर्माता तथा गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले जानकारी दिनुभयो ।
गायन तथा नृत्यमा गरी यो प्रतियोगीताका लागि देशका विभिन्न स्थानमा अडिसन भएको थियो । यसरी नेपालका विभिन्न ठाउँमा भएको अडिसनबाट गायन र नृत्यतर्फ गरेर १ सय २० जना प्रतिभा छनोट भएका थिए । छनोट भएका प्रतिभा मध्ये विभिन्न चरणबाट सफलता प्राप्त ८ जना फाइनलमा पुगेका हुन् ।
फाइनलमा पुगेका प्रतिभाले ‘फाइनलिष्ट लाइभ कन्सर्ट एण्ड म्युजिकल टुर’ कार्यक्रम मार्फत देशका विभिन्न ठाउँमा पुगेर आफ्नो प्रस्तुती राखेका थिए । प्रतियोगीलाई देशव्यापी रुपमा परिचित गराउने उद्धेश्यले अन्तिम प्रतिष्पर्धा अगाडि देश दौडाह गरिएको गुरुङले बताउनुभयो । यसरी भएको कार्यक्रममा फाइनलिष्ट प्रतियोगीलाई स्थानीय कलाकारहरुले समेत साथ दिएका थिए ।
यो प्रतियोगीताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजिजु, गायिका इतु जोजिजु रोशन बान्तवा राई, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ, कोरियोग्राफर निरुता गुरुङ रहनुभएको छ । प्रतियोगीता आयोजना गर्नुको उद्धेश्य लुकेर रहेको प्रतिभालाई उजागर गर्नु, उनीहरुलाई मञ्च प्रदान गरेर आम जनमानसमा प्रतिभालाई पुर्याउने रहेको आयोजकको भनाई छ ।
फाइनल कार्यक्रममा वरिष्ठ गायक कर्णदास, पपस्टार धिरज राई, छैटौं संस्करणको विजेता समेत रहेका टी सुनामीको रुपमा परिचित र्यापर श्रीजल खनाल, पाँचौ संस्करणको विजेता समेत रहेकी कलाकार धुपा दुरा, लोक गायिका स्मृति गौतम, गुरुङ फिल्मका महानायकको रुपमा परिचित ताराबहादुर गुरुङ, सातौं सस्करणको विजेता सुमन लामा घिसिङ र जेबिका रेउले लगायतका कलाकारको प्रस्तुती समेत दर्शकले हेर्न पाउनेछन् । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकको भनाई छ ।
