पोखरा, २१ असार / अष्ट्रेलियाको सेन्ट्रल क्वीन्स यूनिभरसिटिका १६ विद्यार्थी र दुई प्रोफेसरलाई आज फिष्टेल नर्सिङ क्याम्पस तथा फिष्टेल हष्पिटल एण्ड रिसर्च सेन्टरले बिदाई गरेका छन् ।
कुमुदिनी होम्म गैह्रापाटनमा आयोजना गरिएको फेयरवेल कार्यक्रममा उनीहरुको नेपाल बसाई, नर्सिङको शिक्षण सिकाई आदान प्रदान र पर्यटकीय नगरी पोखराको आतिथ्यताको बारेमा चर्चा गरिएको थियो ।
विद्यालयका अध्यक्ष अशोक पालिखेले कार्यक्रमको बारेमा जानकारी दिदै भने, सि क्यू यूनिभरसिटिसंग हाम्रो सम्बन्ध २०१० बाट कायम भएको हो । कोभिडको बेलामा ३ वर्ष रोकिएकोमा फेरि यो वर्षबाट शुरु भएको छ ।
उनीहरुले त्यहाँका बिएससि पढिरहेका विद्यार्थीलाई तालिमको लागि एक्सपोजरको रुपमा विभिन्न देशमा लैजाने गरेका छन्। त्यहाँ कसरी नर्सिङको पढाई हुन्छ र उपचार कसरी गरिन्छ भन्ने बारेमा हाम्रा विद्यार्थीको गुणस्तरबृद्धिका लागि र यहाँको परिपाटी कस्तो छ भन्ने बारेमा अनुभव लिन उनीहरु आउने गरेको पालिखेले बताए ।
उनीहरु हरेक वर्ष आउँदा १० दिनसम्म नर्सिङको पढाईका बारेमा सहजिकरण, छलफल गर्ने, यहाँको शैक्षिक प्रणाली तथा अष्ट्रेलियामा भएको व्यवस्थालाई तुलनात्मक रुपमा अध्ययन गर्ने गर्नाले सहज हुने देखिएको छ ।
सो अवसरमा पालिखेले नेपालमा अध्ययन, शिक्षण सिकाईका कुराहरु लिएर आउँदा विशेष गरी अक्टुबर र नोभेम्बरको क्यालेण्डर बनाएर आउन आग्रह गरे । उनले भने, नेपालको पर्यटनको पिक सिजन शुरु हुने र वातावरण रमणीय हुने बताए ।
कार्यक्रमको संयोजनकारी भूमिका खेलेका सोनाम साङपोले नेपालमा आई यहाँका विद्यार्थीको नर्सिङको पढाईको लागि धेरै गुण लगाएको बताए । उनले नेपालमा शैक्षिक परामर्शका कार्यक्रमसंगै पर्यटकीय गन्तव्यको देश भएकोले सो अनुसारको भ्रमणको लागि स्वागत गर्न तयार रहेको बताए ।
कार्यक्रममा फिष्टेल नर्सिङका विद्यार्थीले विभिन्न जातिय भेषभुषामा सजिएर नृत्य प्रस्तुत गरेका थिए । सि क्यू यूनिभरसिटिका विद्यार्थीले नेपाली पोशाक लगाएर फिष्टेलका विद्यार्थीसंगै नृत्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा १८ जना सि क्यू यूनिभरसिटिका विद्यार्थीहरुलाई मायाको चीनो तथा प्रमाण पत्र प्रदान गरिएको थियो । साथै विद्यालयका अध्यक्ष पालिखे, अस्पतालका अध्यक्ष डा। भोला श्रेष्ठ, डा।बसन्त ताम्राकार, डा।भाइरत्न शाक्य र सोनाम साङपो, डा।भाधव पराुली लगायतलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा फिष्टेल हस्पिटलका प्रमुख प्रशासकिय अधिकृत मधु ज्ञवाली, मेट्रोन प्रतिमा शर्मा, वार्ड इन्चार्ज एकता सुवेदी, प्रीया आचार्य, सरिता आचार्य, प्रशासक एफएचआरसि शर्मिला श्रेष्ठ शर्मा लगायतको सहभागिता थियो ।
हरेक वर्ष उनीहरुले यहाँ आउँदा प्लस टू नर्सिङका लागि तीनजना विद्यार्थीलाई छात्रबृत्ति दिने गरेका छन् । यसपालि पहिलो वर्षका लागि ४० हजार र दोश्रो वर्षमा अध्ययन गर्ने एकका लागि २५ हजार तथा तेश्रो वर्षमा अध्ययन गर्ने एक जनाका लागि २५ हजार छात्रबृत्ति दिएका छन् । उनीहरुमा पहिलो वर्षमा अध्ययन गर्ने कृपा अधिकारी, दोश्रो वर्षकी अन्जु शिरिष र तेश्रो वर्षकी सिम्रन थापा रहेका प्रशासक शर्मिला श्रेष्ठ शर्माले जानकारी दिईन ।
