पोखरा असार २१ / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक एवं सुन्दर नगरी पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घको २७ औँ संस्थापना दिवस तथा २६ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न प्रचुर सम्भावना भएकै कारण आफ्नो ध्यान पोखरालाई पर्यटकीय राजधानी बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभयो ।
स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पोखराका नौवटै तालको संरक्षण गर्दै ती ताललाई पर्यटकीयरूपमा विकास गर्ने लक्ष्य आफ्नो रहेको कुरा उहाँले सुनाउनुभयो ।
पर्यटकलाई आकर्षण गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि छिमेकी मुलुक भारत र चीनसँग प्रधानमन्त्रीस्तरबाट पहल गर्न आफूले प्रधामन्त्रीलाई आग्रह गरेको जानकारी उहाँले दिनुभयो । गण्डकी प्रदेशको विकासका लागि पर्यटन क्षेत्रमा काम गर्ने सामाजिक सङ्घ संस्था उद्योग वाणिज्य सङ्घलगायतका सरोकारवालासँग सामूहिक कार्यक्रम सञ्चालन गरी समस्याको पहिचान गर्दै यहाँको पर्यटन व्यवसायलाई लयमा फर्काउने सोचमा आफू रहेको उहाँले बताउनुभयो ।
उहाँले आजै लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा बेगनास ताल छेउमा निर्मित ‘बेगनास लेक’ लेखिएको लेटर बोर्डको अनावरणसमेत गर्नुभयो ।
सोही अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले पोखरा र लेखनाथबीचमा देखिएको असमझदारीलाई अन्त्य गर्दै पोखराको विकासका लागि सामूहिक भावनाले अगाडि बढ्न अनुरोध गर्नुभयो । विकास निर्माणका साथै नीति निर्माण र बजेट विनियोजनमा लेखनाथ र पोखराका वडाका बीच कुनै भिन्नता नभएको जिकिर उहाँको छ ।
पोखरा महानगरपालिकाको वडा नंं ३३ र तनहुँको शुक्लागण्डकी नगरपालिकाको केही भू–भागलाई समेटर पँुडिटारमा नयाँ औद्योगिक क्षेत्र निर्माणको कार्य यसै वर्षदेखि कार्य सुरु गरिने जानकारी प्रमुख आचार्यले दिनुभयो ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले लेउवा सङ्घ उद्योग व्यवसायीको संस्थामात्र नभई सबै जातजाति, सामाजिक सङ्घसंस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्था रहेको जिकिर गर्नुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घले यस क्षेत्रमा पर्यटन विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग हातेमालो गर्दै विकासका योजना सञ्चालन गर्न चाहेको उहाँको भनाइ छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्वअध्यक्ष चतुराखर अधिकारी, बागलुङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेल, लेउवा सङ्घका उपमहासचिव जानुका पराजुलीलगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।
सङ्घले स्थापना दिवसको अवसर पारी सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा–३२ को श्री राधाकृष्ण वृद्धाश्रमलाई रु एक लाखको अक्षयकोष स्थापना गर्न आश्रमका अध्यक्ष प्रेम लिगललाई रकम हस्तान्तरण गरेको थियो ।
त्यसैगरी सङ्घलाई सहयोग गर्ने त्रिभुवन शान्ति माविलाई रु ५० हजार र व्यवसाय प्रवर्द्धन तथा सर्वेक्षण कार्यका लागि त्रिवेणी इन्टरनेशनल कलेजलाई रु ५० हजार, व्यवसायी कल्यणकारी कोषअन्तर्गत आगलागीबाट क्षति भोगेका सङ्घका सदस्य शोभामोहन सुवेदीलाई रु ५० हजार, पावर हाउस बजार व्यवस्थापन समितिलाई उज्यालो कार्यक्रमका लागि रु ४० हजार प्रदान गरिएको थियो ।
सोही अवसरमा सङ्घद्वारा प्रदान गरिने एक लाख एक हजार बराबरको नगद पुरस्कार राशि रहेको चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सम्मान पुरस्कारबाट ज्येष्ठ नागरिकको क्षेत्रमा कार्य गर्दै आउनुभएका पोखराका समाजसेवी भक्तराज श्रेष्ठलाई सम्मान गरिएको थियो । रासस
