पोखरा, असार २/ पोखरामा पहिलो पटक आयोजना गर्न लागिएको ड्रागन बोट रेस फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा आयोजना गर्न लागिएको यो फेस्टिभल दक्षिण एशियामै पहिलो पटक हुन लागेको बताईएको छ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुताबास र पोखरा महानगरपालिकाको आयोजना, पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजनामा असार ८ र ९ गते फेवातालमा पहिलो पटक ड्रागन बोट रेस फेस्टिभल हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

होटल एशोसिएसन नेपाल हान, नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज नारा, नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसन लगायतका विभिन्न संघ संस्थाहरुको सहकार्यमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभलले दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई मजबुत बनाउन र नेपालमा चिनीया पर्यटकको आगमनलाई बढाउन सहयोग पुग्ने बताईएको छ ।

ड्रागन बोट रेस फेस्टिभलका लागि चीनबाट नेपालको केरुङ नाका हुँदै ८ वटा विशेष खालका वोट पोखरा ल्याईएको छ । आवश्यक सामाग्रीसहित प्रशिक्षणका लागि पोखरा आएका सहभागिहरुले अभ्यास गरिरहेका छन् ।कार्यक्रममा चीनको लिङ्जी नगरबाट उपप्रमुखसहित ६० जनाको टोली चार्टर उडानबाट पोखरा आउने भएको छ ।
चिनले यस्तो प्रतियोगिता ५० वटा बढी देशमा गर्दै आएको छ । यसलाई एशियन गेममा पनि समावेश गराईने गरिएको छ ।

फेस्टिभलमा नेपालका सातै प्रदेश र चीनका गरेर १२० जना प्रतियोगिले सहभागिता जनाउने भएका छन् ।नेपालमा आयोजना गर्न लागिएको फेस्टिभलबाट पर्यटनमा नयाँ आयाम थपिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए ।

उनले यसले पोखरोका पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा गरिएको बताए । अब यसलाई हामीले हरेक वर्ष निरन्तरता दिनेछौं उनले भने, अब यो पोखराको लागि नयाँ प्रोडक्ट पनि हुनेछ ।कार्यक्रमको सार ८ गते उद्घाटन गरिनेछ । शुरुमा २ सय मिटर र त्यसपछि ५ सय मिटरका दुई वटा सेगमेन्टमा ८ वटा वोट रेस प्रतियोगिता हुनेछन् । प्रतियोगिताका विजयीले नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । सो अवसरमा दुबै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी गरिने भएको छ ।

विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्नका लागि यस कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।नेपाल र चीनबीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध कायम हुँदै आएको छ । पूरानो कथन अनुसार चीनका प्रख्यात भिक्षु फक्सियान र सुआन्जाङ हजारौं माईलको यात्रा गरेर नेपालमा वुद्धका् पूजा गरेका र नेपालका प्रशिद्ध कलाकार अरनिकोले चीनको प्रशिद्ध सेतो प्यागोडा शैली निर्माण गरेका थिए । यसले दुई देशबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ ।

चीन नेपालको पर्यटनको लागि मुख्य पर्यटनको श्रोत पनि हो । कोभिड १९ अघिसम्म नेपाल आउने पर्यटकहरुमा सबैभन्दा बढी चीनका थिए । कोभिडपछि यो संख्या घटेको भएपनि सुरक्षा प्रोटोकल अहिले खुला गरेकोले चीनीयाँहरुको संख्या बढीरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०२३ को मे महिनामा नेपाल आएका पर्यटकहरुमा भारत, अमेरिका पछि चीन तेश्रो स्थानमा रहेको छ । मे मा ४ हजार ६६७ चीनीयाँ पर्यटक नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0