file phto

काठमाडौँ, २५ जेठ/

दक्षिण एसियामा पहिलोपटक ‘नेपाल–चाइना फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३’ नेपालमा हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा आगामी असार ८ र ९ गरी दुई दिनसम्म पोखरामा हुने भएको हो ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएसन नेपाल र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिजसँगको सहकार्यमा उक्त फेस्टिभल पोखराको फेवाताल किनार क्याम्पिङ चोकमा सञ्चालन हुनेछ ।

पर्यटन बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न यस खेलले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।

“विश्वव्यापी महामारीका कारण खस्किएको पर्यटन क्षेत्रको ९२ प्रतिशत सुधार भइसकेको छ । हाल बढ्दै गएको पर्यटकको सङ्ख्यामा यस फेस्टिभलले अझ थप वृद्धि गर्छ भन्ने विश्वास लिएका छौँ, जसले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुर्याउँछ”, उहाँले भन्नुभयो ।

पहिलोपटक नेपालमा सञ्चालन गर्न लागिएको यस फेस्टिभल आगामी वर्षदेखि वार्षिकरूपमा सञ्चालन गर्ने तयारीमा रहेको बोर्डका सिइओ रेग्मीले जानकारी दिनुभयो । बेमौसमी समयमा सञ्चालन हुने उक्त फेस्टिभलले नेपालको पर्यटन क्षेत्रलाई अझ बलियो पार्ने उहाँको भनाइ छ ।

नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सिङले नेपाल र चीनबीच लामो समयदेखिको मित्रतामा यस फेस्टिभलले थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । “हामी दुई देशबीचको भौगोलिक निकटता, सांस्कृतिक तथा जनस्तरको सुमधुर सम्बन्ध बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउनमा यस फेस्टिभलले ठूलो योगदान पुर्याउँछ”, उहाँले भन्नुभयो ।

यस बोट फेस्टिभलमा ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना हुँदै आइरहेको एवं यो एसियन गेममा समेत सहभागी गराइने उहाँले जानकारी दिनुभयो । रेसका लागि चीनबाट आठवटा विशेष खालको बोट, अन्य आवश्यक सामग्री र चीनबाट बोट रेस तथा प्रशिक्षणको लागि आउने प्रतियोगी नेपाल आइसकेका छन् । फेस्टिभलमा नेपालका सातै प्रदेश र चीनबाट आएका प्रतियोगी सहभागी हुनेछन् ।

कार्यक्रमको औपचारिक उद्घाटनसँगै पहिले दुई सय मिटर र पछि पाँच सय मिटर गरी आठवटा बोट रेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ साथै कार्यक्रममा दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी हुने भएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सिइओ रेग्मी, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख सिङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उपसचिव सरोज पोखरेलद्वारा संयुक्तरूपमा उक्त फेस्टिभलको लोगो सार्वजनिक गर्नुभएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0