पोखरा, १६ जेठ /
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि अभियानअन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको छ । सोहीक्रममा टेवानले जेठ १२ देखि १५ सम्म पर्यटन व्यवसायमा क्षमता अभिवृद्धि तथा कानुनी सचेतनात्मक कार्यक्रम पोखरामा सम्पन्न गरेको छ ।

तालिममा अधिवक्ता तारा शर्माले कार्यस्थलमा हुने हिंसा, महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र त्यस सम्बन्धी कानुन उपचारको पाटोबारे सहभागीलाई प्रशिक्षित गराइन् । अधिवक्ता इश्वरी पौडेलले व्यवसाय गर्ने क्रममा आइपर्ने कानुनी जटिलता र समाधानका उपायकाबारेमा प्रशिक्षण दिइन् । पत्रकार सुष्मा पौडेलले सकारात्मक सोच र फिल्म निर्देशक जसु गुरुङले पर्यटनमा संस्कृतिको प्रयोगबारे तालिममा सहभागीलाई प्रशिक्षण दिए ।

तालिमको समापनमा सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले आगामी बजेटमा पर्यटन व्यवसायी महिलाका मुद्दालाई समावेश गर्ने बताए । सरकार आफै महामारीमा परेको भन्दै उनले चालु आर्थिक वर्षको भन्दा आगामी बजेट ५ अर्ब रुपैयाँसम्म घटेर आउने जानकारी गराए । ‘आफ्नै खुट्टामा उभिने आत्मनिर्भर प्रदेश कसरी बनाउने भन्ने विषयमा गम्भीर छौं,’ उनले भने, ‘कस्तो नीति ल्याउँदा धेरै पर्यटक भित्र्याउँन सकिन्छ, त्यस्तै नीति ल्याउन कानुनमा बाधा अड्चन छन् भने संविधानले दिएको अधिकार प्रयोग गरेर फुकाउँछौं ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीलाई राहत पुग्ने गरी आगामी प्रदेशको बजेट निर्माण गर्न सुझाव दिए ।टेवानका सल्लाहकार एवं पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन व्यवसायमा बढीभन्दा बढी महिला सहभागिता वृद्धि गरेर उत्पादनसँग जोड्ने र त्यसलाई बजारीकरण गरेमात्रै पर्यटन दिगो हुने बताए । टेवानका सल्लाहकार बोबरजंग गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

तालिममा सहभागी व्यवसायी मालती अधिकारीले तालिमपश्चात आफूमा आत्मविश्वास बढेको बताइन् । ‘अब सकारात्मक सोचका साथ ग्राहकसँग कसरी व्यवहार गर्ने, कानुनी बाधा आए के गर्ने भन्ने थाहा भयो,’ उनले भनिन् । टेवानकी अध्यक्ष कमला गिरीले व्यवसायी स्वयंममा सकारात्मक सोच भए क्षमता अभिवृद्धि पनि हुने भएकोले तालिम आयोजना गरेको बताइन् । व्यवसायी महिलालाको क्षमता अभिवृद्धि अभियानमा टेवान रहेको बताउँदै उनले आगामी दिनमा समेत यस्तो तालिम आयोजना गर्ने जनाइन् ।

कार्यक्रमकी संयोजक शारदा लम्सालले तालिममा ६६ जना पर्यटन व्यवसायी महिला सहभागी भएको बताइन् । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न गरेको जानकारी उनले दिइन् । टेवानकी सचिव शोभा अधिकारीले यसअघि पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ, व्यवसाय प्रवद्र्धन लगायत तालिम सम्पन्न गरिसकेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0