पोखरा, जेठ ११/
पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले आयोजना गरेको बृहद रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ । सिटी रेवान पोखराको वार्षिक क्यालेन्डर अनुसार पोखराको सृजनाचोकमा विहीबार विहान आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त संख्यामा रगत संकलन भएको हो । रक्तदान कार्यक्रमको रेडक्रस कास्कीका अध्यक्ष दण्डराज शर्माले होटल व्यवसायी महासंघ गण्डकीका महासचिव देवेन्द्र लम्साललाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सिटी रेवान पोखरामा आबद्ध व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणले रक्तदान गरेको सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै रेडक्रस कास्कीका अध्यक्ष दण्डराज शर्माले रक्तदान कार्यक्रम आयोजना गरेर सिटी रेवान पोखराले उदाहरणीय कार्य गरेको बताए ।
सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सिनाले संस्थाले सामाजिक उत्तरदायीत्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको बताए । व्यवसायसँगै सामाजिक कार्य गर्नुपर्छ भन्ने संस्थाको मान्यता अन्तर्गत वार्षिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको उनको भनाई थियो । ‘रगत अभावमा कसैको ज्यान नजाओस् अनि रक्तदान गर्नेलेपनि स्वास्थ्य लाभ प्राप्त गर्न सकोस् । यसो भयो भने रक्तदान गर्नेलेपनि स्वस्थ जीवन प्राप्त गर्छ अनि रगत अभावमा अस्पतालमा छटपटाईरहेका विरामीले पनि रगत पाएर ज्यान बचाउन सक्छ भन्ने उद्देश्यले हामीले रक्तदान गरेका हौं’–उनले भने ।
संस्थापक अध्यक्ष चिरञ्जिवी श्रेष्ठ, निवर्तमान अध्यक्ष पिताम्बर शर्मालगायतले रक्तदान जीवन दान सरह भएको भन्दै यस्ता कार्यक्रमहरु आगामी दिनमापनि संस्थाले निरन्तर गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा घरभाडा सरोकार समिति कास्कीका अध्यक्ष कमलप्रसाद न्यौपाने, बरिष्ठ उपाध्यक्ष तुलसा जिसी, सचिव केशव घिमिरे, कार्यक्रम संयोजक तथा कोषाध्यक्ष प्रेम सापकोटालगायतले संस्थाले गर्ने सामाजिक कार्य र रक्तदानको महत्वका बारेमा बोलेका थिए ।
