पोखरा ३ जेठ /
मानव अधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल (मानव अधिकार एलायन्स) गण्डकी शाखाले नक्कली भुटानी शरणार्थीबनाई नेपाली नागरिकलाई तेस्रो मुलुक पठाउने कार्यमा संलग्नलाई कारबाहीको माग गरेको छ ।
एलायन्सले जेठ ३ गते कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउँदै नेपाली नागरिकलाई तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरु, पूर्व मन्त्रीहरु लगायतका व्यक्तिहरु संलग्न भएको समाचार प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एलायन्स कास्कीका अध्यक्ष पदमराज पहारी, गण्डकी अध्यक्ष शिवराज शर्मा र प्रदेश इन्चार्ज रामचन्द्र पौडेलले प्रजिअ केसीलाई भेटी ज्ञापनपत्र बुझाएको सचिव मधु पन्थीले जानकारी दिए ।
ज्ञापन पत्रमा भनिएको छ, ‘सरकारका केही उच्च पदस्थ कर्मचारीहरु, केही मन्त्रीहरु र उनका आफन्तका व्यक्तिहरु समेत संलग्न भइ गलत ढंगले नागरिकहरुलाई अन्य मुलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरुको दुरुपयोग हो ।
नीति निर्माता र राज्य संचालकहरु नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाल, राजनीति दलहरु र कानूनी शासनप्रति अविश्वास सृजना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय हो । यस्ता अपराधिक घटनाहरु कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारवाहीको लागि मानवअधिकार एलाइन्स जोडदार माग गर्दछ ।’
‘आम जनसमुदायमा राज्य व्यवस्था, राज्यका अंग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तथा राजनीतिक दलहरु प्रति विश्वास र भरोसा सृजना गर्नका लागि विभिन्न समयमा भएका भष्ट्राचार सम्बन्धी सम्पूर्ण घटनाहरुको निष्पक्ष र पारदर्शी ढंगले छानबीन गर्न, दोषीलाई कानूनको कठघरामा उभ्याउन र मुलुकमा विद्यमान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न नेपाल सरकार समक्ष मानवअधिकार एलाइन्स माग गर्दछ ।
साथै नक्कली भुटानी शरणार्थी छानबीन आयोग यथाशिघ्र गठन गरी अनुसन्धान प्रक्रियालाई सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न, सुशसान र मानवअधिकारको प्रत्याभुति गराउन सरकारसँग आग्रह गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।’
