पोखरा, जेठ २/
पोखरा महानगरपालिकाले पेट्रोलपम्पमा अनुगमन गरेको छ।पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा हेमजा, मालेपाटन, जरेबर र विरौटामा सञ्चालित पाँच वटा पेट्रोलपम्पमा अनुगमन गरिएको हो । अनुगमनमा पेट्रोलपम्पहरु परिणाम र गुणस्तरमा भने ठिकठाक भेटिए ।
पोखरा महानगरपालिकाले मंगलबार गरेको पेट्रोलपम्पको अनुगमनमा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको अनुगमन संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । महानगरमा सञ्चालित ५ पेट्रोलपम्पमा अनुगमन गरिएको थियो । हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुल आय स्टोर्स, मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरिएको हो ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका समेत सहभागि थिए । डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नविकरण भए नभएको अनुगमन गरेको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताउनुभयो । ‘परिणाम र गुणस्तरमा कैफियत फेला परेन’, पौडेलले भन्नुभयो ।
उनका अनुसार केही पम्प महानगरमा बिना दर्ता सञ्चालन भएको पाइएको छ । महानगरमा दर्ता गर्न निर्देशन दिएको उहाले बताउनुभयो ।
