पोखरा २९ चैत/

माछापुच्छ्रे गाउँपालिका–५ मा मानव अधिकार समूह बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य भरतराज अधिकारीले समाजमा विद्यमान विभेद र मानव अधिकार उल्लङ्घनका घटना न्युनीकरणका लागि समाजमा चेतनाको विकास हुनुपर्ने बताए । परिवर्तन बिस्तारै हुने भएकाले सकारात्मक सोचका साथ अगाडि बढ्दै एकले अर्काको अधिकारको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

समूहका अध्यक्ष डिल्लीराम भण्डारीले पालिकालाई मानव अधिकार मैत्री पालिका निर्माणमा मानव अधिकार समुहको महत्वपूर्ण भूमिका रहेको बताए । जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले मानव अधिकार तथा जातीय विभेदका सम्बन्धमा सहभागीहरूसँग अन्तरक्रिया गरेकी थिइन् ।

यसैबीच, अम्विका लम्साल लामिछानेको अध्यक्षतामा ११ सदस्यीय वडास्तरीय मानव अधिकार समुह गठन गरिएको छ । समूहको उपाध्यक्षमा रेशमकुमार थापामगर, सचिवमा मिनबहादुर परियार, कोषाध्यक्षमा भिममाया गिरी तथा सदस्यहरूमा गमबहादुर विक, विष्णुदेवी लामिछाने, गोविन्द अधिकारी, शान्ती वि.क., श्यामबहादुर गुरुङ, लक्ष्मी लामिछाने र बसन्ती पौडेल रहेका छन् ।

कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी, टोल संयोजक तथा प्रतिनिधि, महिला, युवा तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो । समूहका उपाध्यक्ष सुनिता परियार र सचिव खडानन्द गौतम लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0