पोखरा चैत्र २७/
पोखरा–२७ स्थित तालचोकमा तालचोक–बेगनास सडक स्तरोन्नतिको शिलान्यास हुँँदै गर्दा छेउछाउबाट स्थानीयवासीको आवाज आइरहन्थ्यो, सडक निर्माणमा अनियमता हैन, छिटो र गुणस्तरीय बनाऊ, वर्षौंदेखि खानुपरेको सडकको धुलो र हिलोबाट छुटकारा देऊ ।

स्थानीयवासी एलके शर्मा भन्दै हुनुहुन्थ्यो दिनहुँ सयौँ स्वदेशी तथा विदेशी पर्यटक वेगनास ताल जाने सडक वर्षौँदेखि स्तरोन्नति नहुँदा पर्यटकले कति दुःख भोग्नुप¥यो होला । “सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायमा वर्षौं पुग्यौँ, तर सडक स्तरोन्नतिका कुनै काम अगाडि बढेनन्”, शर्माले भन्नुभयो, “११ वर्षको प्रयासपछि सडक स्तरोन्नतिको काम सुरु हुँदा खुसी भएका छौँ, स्तरोन्नतिको हरेक काममा सहयोग र सडकको गुणस्तररमा कमी हुन नदिन ठेकेदार कम्पनीलाई खवरदारी गरिरहन्छौँ ।”

पोखरा–२७ तालचोकदेखि पोखरा–३१ बेगनास तालसम्मको तीन दशमलव आठ किलोमिटरको सडक स्तरोन्नति गर्न विश्व बैंकले रु एक अर्ब ४९ करोड १५ लाख सहयोग गर्नेछ । उक्त सडक स्तरोन्नति कार्यको शिलान्यास आज बिहान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको छ ।

विदेशी सहयोग लिएरै सडक स्तरोन्नतिको काम थाल्ने आश्वासन पनि स्थानीयवासीको कानमा पटकपटक नपरेको हैन, तर यो वा त्यो बहानामा सडक स्तरोन्नति हुन सकेन भन्ने खबर पनि स्थानीयवासीले पाइरहन्थे । केही महिनाअघि ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कार्य रोकिएका खबर पनि स्थानीयवासीले पाएका थिए । कहिले स्थानीय उपभोक्ताबाट नै अख्तियारमा उजुरी त कहिले पोखराका कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती विवादमा नपर्न ठेक्का सम्झौतामा हस्ताक्षर गर्न नमान्ने खबर उनीहरूले सुन्नुपरेको थियो ।

पछिल्लो समय विश्व बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरपालिका बीचको सम्झौतापछि सडक स्तरोन्नतिको कार्य अगाडि बढेको छ । “विश्व बैंकको सहयोग नै रोकिने अवस्था भएपछि जसरी भए पनि सडक स्तरोन्नति गर्न पर्छ भनेर हर प्रयास गरेँ”, महानगर प्रमुख आचार्यले भन्नुभयो, “जे होस् विश्व बैंकको सहयोगले पोखराको तालचोकदेखि बेगनाससम्म एसियाकै नमूना सडक बन्ने भयो ।”

शिलान्यास कार्यक्रममा उहाँले निर्धारित समयमै सडक निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । “तोकिएको समयभित्र निर्माण सम्पन्न गर्नुभयो भने, कन्ट्र्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ”, प्रमुख आचार्यले भन्नुभयो, “कन्ट्र्याक्टर र कन्सल्टेन्टले दुई वर्षभित्र सडक सम्पन्न गर्नैपर्छ ।” पैसाका कारण काम रोकिन नदिने पनि प्रमुख आाचार्यले आश्वास दिनुभयो ।

तालचोक–बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडरसहित चार लेनको हुनेछ । यस खण्डमा पाँच वटा पुल निर्माण गरिनेछन् । सडकको बीचमा एक दशमलव पाँच मिटर चौडाइको डिभाइडर, दुवै छेउमा दुई दशमलव पाँच मिटर चौडाइको पार्किङ, दुवै छेउमा एक मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि दुई मिटर चौडाइ फुटपाथ र सडकमा चार सेमी मोटाइको अस्फाल्ट पिच गरिने बताइएको छ ।

सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौँले पाएको छ । उक्त कम्पनीले अनुमानित रकमभन्दा ३८ दशमलव ६४ प्रतिशत कम रु ७५ करोड ४८ लाख ६७ हजारमा ठेक्का पारेको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले सात सय ३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सम्झौता भइसकेको छ ।

उक्त कम्पनीका सञ्चालक एवं निर्माण व्यवसायी नारायण भुसालले तोकिएकै समयमा आफूले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “तोकिएकै समयमा काम सम्पन्न गर्न हामी तत्पर छौँ”, उहाँले भन्नुभयो । स्थानीयवासीको सहयोगले मात्र सडक निर्माण कार्य सफल हुने उहाँको भनाइ थियो ।

परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले वैशाखको पहिलो सातादेखि सडक स्तरोन्नतिको काम थालिने बताउँदै निर्माणका क्रममा कुनै समस्या आए साझारूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभयो । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सडकको स्तरोन्नतिसँगै व्यवस्थित बसपार्क निर्माणमा जोड दिनुभयो ।

सडक स्तरोन्नति शिलान्याससँगै सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन महानगर प्रमुख आचार्यले आजैदेखि निर्देशन दिनुभएको छ । महानगरको वडा नं २७, ३० र ३१ मा पर्ने सडकखण्डका सडकको केन्द्रबाट दायाँ–बायाँ ५०÷५० फिटभित्र पर्ने घर, टहरा, अस्थायी संरचना हटाउन निर्देशन गरिएको छ । सडक स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना २०२१ मार्च ५ मा सम्झौता भएको थियो ।

स्थानीयवासी रामबाबु भण्डारीले सडक निर्माण कार्यमा गुणस्तर कम हुन नदिन स्थानीय उपभोक्ताले दैनिक खबरदारी गर्नुपर्ने र अनुगमन गर्ने इञ्जिनियरलाई गुणस्तरमा ध्यान दिन जोड दिन आवश्यक रहेको बताउनुभयो । अर्का स्थानीयवासी सन्दीप पौडेलले सडक निर्माणसँगै अब बेगनास ताल तथा आसपासका क्षेत्रमा आउने पर्यटकले सडकको सुविधाका साथै पर्यटक बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0