पोखरा ८ चैत /

पाल्पा र कास्कीमा उत्पादित मौलिक उत्पादन तथा सांस्कृतिक पहिचानको प्रबद्र्धन गर्ने उद्देश्यले करिब २ करोडको लगानीमा पोखरा ९ न्युरोडमा पाल्पा हाउस प्रालि सञ्चालनमा आएको छ ।

रानीमहलको झल्को दिने गरी निर्माण गरिएको भवनको चैत १० गते शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्ने बुधबार आयोजित पत्रकार भेटघाटमा पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

एउटै छानामुनि उक्त हाउसमा कुल १७ सटरमा पाल्पाली चिनारीहरू ढाका, करूवा लगायत फलफूल तथा कृषिजन्य उत्पादन उपलब्ध गराइनुका साथै पोखराको पहिचान जेठोबुढो तथा कृषिजन्य उत्पादनको बजारीकरण गरिने छ ।

त्यस्तै रानीमहल रेष्टुरेन्टबाट ग्रहाकहरूका लागि पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास तथा छोयला लगायतका चलनचल्तीका विभिन्न स्वाद पस्किने अध्यक्ष घिमिरेको भनाइ छ ।

पाल्पा हाउसले कास्की र पाल्पाको मात्र नभइ समग्र गण्डकी र लुम्बिनी प्रदेशकै पर्यटन प्रबद्र्धनसहित आर्थिक गतिविधिमा समेत टेवा पुग्ने घिमिरेले बताए । समाजकै पहलमा पाल्पा हाउससहित, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र पाल्पाली कोलोनी सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0