राजाराम पौडेल, पोखरा २४ फागुन
गण्डकी प्रदेश बुद्धिचाल संघको अध्यक्षमा युवराज भण्डारी चयन भएका छन् । बुधबार पोखरामा भएको संघको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट भण्डारी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र लिगल, सचिवमा रामलाल श्रेष्ठ, सह–सचिवमा झरना थापा, कोषाध्यक्षमा केपी खनाल तथा सदस्यमा सञ्जय भण्डारी र मिसन बास्तोला निर्विरोध छानिएका छन् । अब प्रद्रेश खेलकुदबाट २ जना र अध्यक्षले मनोनित गर्ने २ जना सदस्य कार्यसमितिमा थपिनेछन् ।
पोखरेली माग्नेबुढाका रुपमा कलाकारिता क्षेत्रमा स्थापित बनेका नवनिर्वाचित अध्यक्ष भण्डारी बुद्धिचाल खेलमा समेत उतिकै क्रियाशिल छन् । अध्यक्षमा चयन भए पश्चात भण्डारीले आफ्नो पहिलो योजना गण्डकी प्रदेश बुद्धिचाल संघको लागि भवन निर्माण गर्न पहल गर्ने हुने बताए । पोखरामा बुद्धिचालको रेटिङ गेम सञ्चालन गर्ने योजना समेत रहेको उनले खुलाए । जुन खेलमा नेपालका चर्चित बुद्धिचालका खेलाडी आएर खेल्नेछन् ।
गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेक सबै जिल्लामा बुद्धिचाल संघको शाखा रहेको भण्डारीले जनाए । पहिलो अधिवेशनमा नवलपुर, स्याङजा, तनहुँ, लमजुङ, बागलुङ, पर्वत र कास्की जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो।
साइमन पार्टी प्यालेसमा भएको कार्यक्रममा, प्रदेश खेलकुद परिषदका कार्यबहाक सदस्य सचिव घनश्याम पौडेल, बुद्धिचाल संघ केन्द्रिय उपाध्यक्ष हिराकाजी महर्जन, पूर्व केन्द्रिय सदस्य बाबुराम पन्त, गण्डकी प्रदेश बुद्धिचाल संघ तदर्थ समितिको सदस्य महेश्वर अधिकारी, कुश्माकर काफ्ले लगायतले बोलेका थिए ।
