राजाराम पौडेल / पोखरा १९ फागुन
भजन गायक कृष्णप्रसाद गौतमको एकल साँझ हुने भएको छ । यहीं फागुन २७ गते शनिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने एकल साँझको तयारी तिव्र पारिएको आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका छन् ।

पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजनामा कार्यक्रम हुन लागेको हो । बालन नाच संरक्षण र प्रर्वद्धनमा सहयोग पुर्‍याउनका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकको दावी छ । एकल साँझमा गायक गौतमले भजन सहित सालैजो, रोइला, रत्यौली, बाजा र लोकगीत गरी कुल १५ वटा गीत गाउनेछन् ।

एकल साँझ कार्यक्रममा चर्चित लोकदोहोरी गायक राजु परियार र शिला आलेले समेत गायक गौतमलाई साथ दिनेछन्।गौतमको जन्म कास्की जिल्लाको पोखरामहानगरपालिका वडा नम्बर २८ कालिकाको काँफलघारीमा भएको हो । बुबा ठाकुर प्रसाद गौतम र आमा सावित्री गौतमको सन्तानको रुपमा जन्मेका गौतमको सांगीतिक यात्रा गाउँमा आमाहरुसँग बसेर रत्यौली र बुबाहरुसँग बसेर भजन गाउँदै सुरु भएको हो ।

उसांगीतिक क्षेत्रको औपचारिकता यात्रा भने २०६८ सालमा ‘झम्के साँझ’ गीतबाट भयो । उनको आवाजमा हालसम्म एक सय भन्दा बढी गीत रेकर्ड भइसकेको छन् । उनले गायका गीतमा बढी भजन गीत नै छन् । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको अध्यक्ष रहेका गौतमका पाँचवटा उपन्यास प्रकाशित छन् ।

एकल साँझबाट ९ लाख आम्दानी हुने तथा साढे ४ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रम संयोजक रुद्र प्रसाद अर्यालले बताए । बचत रकम श्रीकृष्ण लिला बालन नाचको लागि आवश्यक कपडा, मुकुट,वाद्यबाधन लगायतका लागि खर्च गरिने उनले जनाए । दिउँसो साढे १ बजेबाट सुरु हुने एकल साँझ हेर्नको लागि ३ सय, ५ सय र १ हजार रूपैयाँको टिकट काट्नुपर्नेछ । हराउदै गरेको बालन नाचको संरक्षण गर्दै यसको बारेमा नयाँ पुस्तालाई जानकारी दिने आफुहरुको उदेश्य रहेको गायक गौतमले पत्रकार सम्मेलनमा खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0