सबिन रेग्मी ,पोखरा १ फागुन  

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाली भूमिबाट युवा तस्करी गर्ने ब्रिटिस क्याम्प हटाएर नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउन माग गरेको छ ।

संघले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी नेपालको संविधान र असंलग्न परराष्ट्र नीति विपरित नेपाली भूमिमा क्याम्प राखेर नेपालीलाई बहुराष्ट्रिय सेनामा पठाउने काम तत्काल बन्द गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष पदमबहादुर गुरुङले प्रथम र दोस्रो युद्धमा जातीय नरसंहारबाट ८० हजार नेपाली नागरिकले ज्यान गुमाउँदा नेपाल सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ । नेपाली भूमिमा क्याम्प राखेर युद्ध लड्न पठाउने नेपालको नीति हो कि ब्रिटिस सरकारको भन्दै उनले प्रश्न गरे ।

वेपत्ता पारिएका नेपालीहरूको स्मरणमा गेसेले स्याङजाको फेंदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माण गर्दै गरेको स्मारकलाई ब्रिटिस सरकारको आदेशमा नेपाल सरकारले रोकेको भन्दै उनले आपत्ति जनाए ।

राज्यकोष र भूपू सैनिकहरूको करोडौं लगानीलाई सरकारले औचित्यहिन बनाइदिएको उनको भनाइ छ । नेपाल र नेपालीलाई सधैभरी अस्थिरता बनाउने काम ब्रिटिसले गरेको भन्दै त्यस्तो कार्य सह््य नहुने अध्यक्ष गुरुङले चेतावनी दिए । गेसोका कार्यालय साल्मेडाँडामा रहने पनि उनले स्पष्ट पारे ।

गेसोका केन्द्रीय सदस्य धर्मबहादुर गुरुङले साल्मेडाँडामा स्मारक बनाउँदा नेपाल सरकारले रोकेर संरचना नै बिग्रिएको भन्दै संघले आवाजलाई अझैँ बुलन्द पार्ने बताए । उनले नागरिकलाई राष्ट्रिय गौरवको सम्पदा निर्माण गर्ने अधिकारबाट सरकारले बञ्चित बनाएको भन्दै असन्तुष्टि जनाए ।

बेलायती सेनामा कार्यरत गोरखाहरूलाई श्रम शोषण गरेको अभियोगमा ‘रोयल कोर्ट अफ जस्टिस’ मा मुद्धा दर्ता भएपछि गेसोले सो मुद्धा जितेको थियो । सन् २००८ सेप्टेम्बर ३० बाट गोरखाहरूलाई बेलायती सेनामा समायोजन गरिएको थियो । आफूहरूले पनि ब्रिटिस सैनिक सरह सेवा सुविधा पाउनुपर्ने गेसोले माग गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0