सबिन रेग्मी ,पोखरा २९ माघ
फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सघाउने पोखराका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् ।
आयोजक नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चले आइतबार आयोजना गरेको अन्तक्र्रियामा बोल्दै उनीहरूले विगतका बर्षहरूमा जस्तै यसबर्षपनि सघाउने बताएका हुन् ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले म्याराथन पोखराको ब्राण्ड भएको र खेल पर्यटनसँग जोडिएको बताए । भूपू खेलाडी मञ्चले म्याराथन आयोजना गरेपनि सबै मिलेर सफल बनाउनुपर्ने उनको भनाइ छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संघ सदैव मञ्चको साथमा रहेको बताए ।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले खेलकुद र पर्यटनलाई सँगसँगै लैजानुपर्ने बताए । उनले कोभिड र जहाज दुर्घटनाले सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न अन्तर्राष्ट्रिय स्तरको म्याराथन प्रतियोगिताले सघाउ पुग्ने उनको भनाइ छ ।
मञ्चका अध्यक्ष हरी पराजुलीले खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने मञ्चको मुृख्य उद्देश्य रहेको बताए । उनले एम्समा दर्ता भएपछि वल्र्डको क्यालेण्डरमा सूचिकृत हुनु गर्वको बिषय भएको सुनाए ।
निवर्तमान अध्यक्ष तेज गुरुङले १७ औं संस्करण सम्म आइपुग्दा म्याराथनले छुटटै खालको उचाई लिएको सुनाउँदै एम्समा दर्ता भएपछि विदेशी खेलाडीको संख्या बढ्दै जाने विश्वास व्यक्त गरे । म्याराथनका लागि सडक साँघुरो र वैकल्पिक रूटको समेत व्यवस्था नभएकाले पब्लिक अवार्डनेस मुख्य बिषय भएको बताए ।
टान अध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी, भिटोफ गण्डकीका अध्यक्ष उदय सुवेदी, रेवान पोखराका महासचिव विकास भट्टराई, पोखरा पर्यटन परिषद्का सचिव हरी भुजेल, होटल संघ पोखराका पूर्व अध्यक्ष भरतराज पराजुली लगायतले विगतमा जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रुपमा सक्दो सहयोग गर्ने बताए ।
मञ्चले आइतबार नै ५ र १७ नं. वडाका स्थानीयसँग पनि छलफल गरेको छ । पोखरा विरौटास्थित राममन्दिरमा आयोजना गरिएको टोल विकास, आमा समूह र वडा नं १७ का जनप्रतिनिधिहरुसंगको छलफलमा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले कार्यक्रम बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा मञ्चका कोषाध्यक्ष महेश पौडेल, वडा नं १७ का वडाध्यक्ष राधीका योगी र स्थानियले म्याराथनलाई सफल बनाउन आफुहर प्रतिवद्ध रहेको बताए ।मञ्चले पोखरा वडा नं ५ मा पनि त्यहाँका स्थानीयसंग छलफल गरेको छ । कार्यक्रममा मञ्चका अध्यक्ष हरि पराजुलीले म्याराथनका बारेमा जानकारी दिएका थिए ।
सो अवसरमा मञ्चका संघ, संस्था परिचालन उपसमितिका संयोजक उत्तम जोशी, वडाध्यक्ष विष्णु वराल, निवर्तमान अध्यक्ष धन बहादुर नेपाली, टोल विकास संस्थाका पदाधिकारी र आमा समूहका अध्यक्ष तथा प्रतिनिधिले आफ्नो क्षेत्र भएर दौडिने धावकलाई हौसला प्रदान गर्न दौडिने रुटमा ठाउँ ठाउँमा बसेर स्वागत गर्ने बताए ।
खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलोमिटर हाफ म्याराथन महिला प्रतियोगिता हुने छ । महिला÷पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र÷छात्रा ५ किमि, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड र ‘रन फर फन’ समेत आयोजना हुने छ ।
खुला म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।
