पर्वतमा साढे सात हजार मतदाता थप

पर्वत, १४ माघ (रासस)

आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी पर्वतमा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ । निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरण टिपाएका १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन् । पर्वतमा पुस ५ गतेसम्मको तथ्याङ्कमा एक लाख १४ हजार ८२१ मतदाता सूचीकरण भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक लाख सात हजार ३०० मतदाता थिए । आगामी निर्वाचनमा अघिल्लो पटकभन्दा सात हजार ५२१ मतदाता थपिएको शर्माले बताउनुभयो जसमध्ये महिला ५९ हजार ६८ र पुरुष ५५ हजार ७५३ छन् । निर्वाचनको तयारीस्वरुप यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावलीमा दाबी विरोधलाई समय निर्धारण गरेको छ । जिल्लाका सातै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिन सकिने निर्वाचन अधिकारी शर्माले बताउनुभयो । कार्यालयले सबै स्थानीय तहमा नाम दर्ता अधिकारी खटाइसकेको छ । त्यसैगरी आगामी निर्वाचनमा १४४ मतदान केन्द्र रहने भएका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा ७४ मतदानस्थलमा १३९ केन्द्र रहेकामा यस पटकको निर्वाचनमा एक मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लास्तरीय मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार एउटा केन्द्र थप्ने निर्णय भएको हो । चुनाव नियमित प्रक्रिया भएकाले निर्वाचन आयोग र मातहतका कार्यालय सधँै आवश्यक तयारीमै हुने शर्माको भनाइ छ । मुख्य काम निर्वाचनको एक महिनाअघि देखि शुरु हुने भए पनि अन्य स्रोतसाधनको आङ्कलन, मतदाता नामावली र मतदानस्थलको व्यवस्थापन नियमित प्रक्रिया भएकाले तयारी अवस्थामै रहेको उहाँको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचनका लागि पर्वतमा एक निर्वाचन क्षेत्र छ । माघ १५–२१ मा मतदाता नामावली अद्यावधिक गरिँदै भोजपुर ः जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिकको कामको थालनी गर्ने भएको छ । कार्यालयले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न शरु गर्ने भएको हो ।

यही माघ १५ गतेबाट २१ गतेसम्ममा सम्पूर्ण स्थानीय तहको अद्यावधिको काम सक्ने कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय भोजपुरमा भएको बैठकले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको काम सञ्चलान गर्ने निर्णय गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कार्यक्रमलाई निर्धारित समयभित्र सम्पन्न गर्न सबै पक्षलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको छ ।

कार्य तालिकानुसार आयोगबाट उपलब्ध गराइएको मतदाता नामावलीमा रहेका त्रुटी सच्याउने दाहोरो पर्न गएका नामावली हटाउने, उजूरी लिनेलगायतका दाबी विरोधका कार्यमा आवश्यक सहयोग समन्वय र प्रचारप्रसारका कार्यमा सबै पक्षको साथ सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन निर्वाचन कार्यालयका प्रमुख पवनकुमार रेग्मीले बताउनुभयो । सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी मिति तोकिएसँगै नामावाली अद्यावधिक तथा दाबी विरोधको काम शुरु गरिएको छ । माघ १५ देखि २६ गतेभित्रमा भोजपुरलगायत ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने जनाइएको छ । यहाँका मतदान केन्द्र र मतदानस्थल परिवर्तन गर्ने तथा थप गर्ने काम सम्पन्न भइसकेको छ । जिल्लाका छ वटा मतदानस्थल परिवर्तन गरिएको छ भने छ मतदान केन्द्र थप गर्ने निर्णय भएको छ । जिल्लाभर ८७ मतदानस्थल र १५४ मतदान केन्द्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...