नेकपामा पुस्तान्तरण : ओलीको तुरुप कि नेतृत्वको सुझबुझपूर्ण निर्णय?

काठमाडौं : नेपालका राजनीतिक दलमा बेला-बेलामा नेतृत्व अर्को पुस्तालाई हस्तान्तरणको बहस हुनु सामान्य हो भलै त्यो व्यवहारमा लागू हुन कठिन छ। पार्टीमा पुस्तान्तरको विषय अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘हट केक’ बनेको छ। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व नयाँलाई दिनुपर्ने विषय उठान गरेर गर्मिएको राजनीतिमा ‘पासा’ फ्याँकेका छन्। के उनी पुस्ता हस्तान्तरण गर्न चाहन्छन् कि आफ्नो बचाउ गर्नमात्र?
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सदस्यले सचिवालयको बैठक माग गर्दै बुझाएको पत्रको जवाफी पत्रमा ओलीले नयाँ पुस्तालाई मौका दिनुपर्ने बताएका छन्। उनले पत्रमा औपचारिक फोरमबाट नयाँलाई जिम्मेवारी सुम्पिएर पार्टी, आन्दोलन, देश र जनतालाई गुन लगाऔं भन्ने प्रस्ताव राखेका छन्।
‘क्रियाशील र क्षमतावान नयाँ पुस्ताले ‘म त्यो पदमा बसेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्छु’ भन्ने मौकै नपाउने, बुढाहरु यसरी लड्ने कि नेतृत्वको दोस्रो पक्तिले समेत ‘भो खानोस्’ भनेर झगडा मिलाउनमै हरदम व्यस्त हुनुपर्ने यस्तो षडन्त्रपूर्ण खेलको अध्याय यहीं अन्त्य गरौं र आआफ्ना काममा जुटौं। आँट गरौं, अब आउने औपचारिक फोरमबाट ‘नयाँलाई जिम्मेवारी सुम्पिएर पार्टी, आन्दोलन, देश र जनतालाई गुन लगाऔं,’ ओलीले भनेका छन्।उनले पार्टीलाई गतिशीलता दिनुपर्ने बताउँदै सकीनसकी आजीवन नेतृत्वमा टासिइरहनु नुहुने पनि उल्लेख गरेका छन्।
‘आजीवन नेतृत्वमा टाँसिइरहने प्रवृत्तिले आन्दोलनमा नयाँ उर्जा, नेतृत्व र विचारलाई बन्ध्याकरण गर्छ भन्ने मान्यतामा म स्पष्ट छु। त्यसैले मेरो प्रस्ताव छ, अब प्रक्रियासम्मत ढंगले सहमतिका साथ अरु साथीहरुलाई जिम्मेवारी सुम्पिऔं,’ उनले प्रस्ताव राखेका छन्।

ओलीको विरोधाभासपूर्ण बोली
ओलीले केही समयअघि एपी वान टेलिभिजनमा दिएको अन्तरवार्तामा पनि नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताएका थिए।
‘अब नयाँ पुस्ताका लागि जिम्मा लगाउन हामी किन तयार छैनौं? हामी आफैँ मैलाई चाहियो, भाग पुगेन, मान पुगेन किन गछौँ? एउटा सहमति गरेर नयाँ पुस्तालाई दिऔँ। हामी ७० को आसपासको हाराहारीमा रहेकाले नै सधैँ ओगट्नु पर्दैन,’ ओलीले भनेका थिए।
पार्टीमा दुवै पद नछाड्ने अडान राख्दै आएका ओलीले पुस्ता हस्तान्तरण गरिहाल्लान भन्ने विषय पत्याउन सजिलो भने छैन। ओलीले उक्त अन्तरवार्ता लगत्तै आफू ‘तन्नेरी’ हुँदै गएको सन्देश पनि दिएका थिए। पार्टी विवाबारे वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तसँग भेटमा ओलीले आफ्ना जुँगा झनै कालो हुँदै गएको भन्दै आफू झन तन्नेरी भएको सन्देश दिएका थिए।
उता, ओलीले संखुवासभा जुँगा फुलेको व्यक्ति अध्यक्ष रहेकाले पार्टी नफुट्ने आश्वस्त पार्न खोजे। उनले पार्टीमा जुँगाको रेखी बस्दादेखि संघर्ष गर्दै आएको र अहिले जुँगा फुलिसकेकाले आफूमाथि भरोसा गर्न जनतालाई अपिल गरे। यी कुराहरुले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा विरोधाभासपूर्ण देखिन्छ।
त्यसो त पार्टीको आगामी अधिवेशनमा ओलीलाई नै पुन: अध्यक्षको उम्मेद्वार बनाउन पछि नहट्ने उनी पक्षका नेताहरु बताउँदै आएका छन्।
‘पार्टीको महाधिवेशनमा के परिस्थिति बन्छ। उहाँले आगामी महाधिवेशनमा उठ्दिन भनेर घोषणा त गरिसक्नु भएकै छ नि। सहमतिको महाधिवेशन भएन भने काँध थाप्न तयार छौं,’ ओली निकट नेता भन्छन्।