२१ करोडको लागतमा पोखरा पिस रिट्रिट सेन्टरको भवन निर्माण तयारी

भवनमा संस्कृति, अध्यात्मक र आधुनिक प्रविधिको त्रिकोणात्मक संगम हुने

दीननाथ बराल/पोखरा २२, माघ

पोखरामा एक अन्तराष्ट्रिय स्तरको सनातन संस्कृति, अध्यात्म र आधुनिक प्रविधिको त्रिकोणात्मक संगम हुने गरी पोखरा पिस रिट्रिट सेन्टर दिव्य शान्ति अनुभूति केन्द्रको भवन निर्माण हुने भएको छ । २१ करोडको लागतमा निर्माण हुने उक्त भवनको एक समारोहका बिच यही माघ २५ गते शनिबार शिलान्यास हुने तयारी गरिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त भवनको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको ब्रह्माकुमारी इश्वरी विश्व बिद्यालय पोखराका निर्देशक बह्माकुमारी दिदी प्रणिताले बताइन्। उनका अनुसार उक्त कार्यक्रममा संस्थाको अन्तराष्ट्रिय मुख्यालय, माउण्टेन आबुबाट बरिष्ठ राजयोगिनी ब्रहमाकुमारी शिलु दिदी सहितका अन्य अतिथिहरुको सहभागिता हुने भएको छ । करिब ३ हजार जनाको सहभागिता शिलान्यास कार्यक्रम हुने भएको केन्द्रले जनाएको छ ।

पर्यटन प्रबद्र्धन गर्न, सनातन संस्कृतिको संरक्षण र सम्बद्र्धनका साथै भौतिक पूर्वाधार विकासका लागि पोखरामा पोखरा पिस रिट्रिट सेन्टर दिव्य शान्ति अनुभूति केन्द्रको भवन निर्माण हुने भएको निर्देशक प्रणिताले बताइन्। पोखरा ११ फूलवारीमा करिब साँढे ३ रोपनी क्षेत्रफलमा ब्रह्माकुमारी इश्वरी विश्व बिद्यालय पोखरा (नयाँबजार) को आयोजनामा उक्त भवन निर्माण गरिने भएको हो । उनका अनुसार सरकारी निकायबाट जग्गा उपलब्ध नभएकोले गर्दा विभिन्न दाता तथा ओम शान्तिका भक्तहरुबाट संकलिन करिब साँढे ८ करोडको लागतमा उक्त जग्गा खरिद गरिएको हो ।

उनले भनिन् “यदि सरकारी निकायबाट हामीलाई प्रयाप्त जग्गा उपलब्ध भएको भए हामीले भारतको माउण्ट आबू जस्तै ओम शान्तिको भवन निर्माण गर्ने सोच बनाएका थियौं, यद्यपी हामीले अत्याधुनिक भवन बनाउने लक्ष्यमा रहेका छौं, यस अभियानमा सवैको साथ र सहयोगकोे अपेक्षा गरेका छौं । ” ब्रह्माकुमारी इश्वरी विश्व बिद्यालय एवं राजयोगी प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय फूलवारी ११ मा स्थापना भएसंगै ५ सय सिट क्षमताको रायोग सभाहल, ८ सय सिट क्षमताको अडिटोरियम हल, पुस्तकालय, संग्रहालय, २ सय सिट क्षमताको भोजन कक्ष र भण्डार तथा एक सय ५० जनाको आवासिय सुविधा सम्पन्न आवास गृह निर्माण गरिने भएको निर्देशक प्रणिताले बताइन । धर्म । अध्यात्मका आस्थावान व्यक्तिहरुका लागि शान्त र पवित्र वातावरणमा व्यवहारिक ज्ञान र बैज्ञानिक विधिद्धारा नियमित दैनिक श्रेष्ठ चिन्तन, ज्ञान श्रवण र विविध बिषयहरुमा प्रवचन र प्रशिक्षण गराइने भएको राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले बताए । उनका अनुसार पोखरामा आवासिय सहितका करिब २६ ठाउँमा ब्रह्माकुमारी इश्वरी विश्व बिद्यालयका इकाई तथा शाखाहरु रहेकाछन्। ब्रह्माकुमारी दुर्गा देविले ८५ प्रतिशत मानसिक तनावका कारण रोग लाग्ने हुने यसबाट बच्न शान्ति र खुसि आवश्यक भएको बताइन्। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले उक्त केन्द्र स्थापना गर्न आवश्यक सहयोग गर्ने वचन दिए ।

यसैबिच, माघ २६ गते आइतबार करिब २ हजार जनाको सहभागितामा प्रवचन तचथा स्नेह मिलन समारोह, नारी सशक्तिकरण प्रशिक्षण हुने भएको कार्यक्रम संयोजक शैलेषराज बरालले जनाए ।

Facebook Comments