१२ औँ राष्ट्रव्यापी अन्तरविद्यालय जुनियर ओपन टेनिस प्रतियोगितामा पोखराका स्पन्दन उदासलाई स्वर्ण पदक

पोखरा, २ मंसिर । १२ औँ राष्ट्रव्यापी अन्तरविद्यालय जुनियर ओपन टेनिस प्रतियोगिताको उपाधी पोखराका स्पन्दन उदासले जितेका छन् ।

कार्तिक २४ देखि मंसिर १ गतेसम्म काठमाण्डौमा भएको प्रतियोगिताको अण्डर एट उमेरसमूहमा फूलबारी मन्टेश्वरी कटेज, नदिपुरका स्पन्दन उदासले स्वर्णपदक हासिल गरेका हुन ।

लिटिल एन्जेल्स विद्यालय ललितपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा देशका विभिन्न विद्यालयबाट प्रतिस्पर्धामा आठ वर्ष मुनीको उमेर समूहका ३४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उदासले स्वर्ण पदक जितेका हुन् ।

विगत १२ वर्षदेखि सो प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ । पहिलो पटक पोखराको विद्यार्थी खेलाडीले स्वर्ण पदक हात पारेको हो । फाइनल खेलमा उदासले अण्डर एट नम्बर १ श्रेणी खेलाडी असभ हाडालाई १०–१, ८–१० र १०–६ को सेटमा पराजित गरेका थिए ।

स्पन्दनको खेलप्रतिको लगनशीलता, विद्यालयको गृहकार्य सँगसँगै खेलको कडा मेहनत, कोच निरज गुरुङ र गोविन्द अछामीको दैनिक कडा प्रशिक्षण, कास्की जिल्ला लन टेनिस संघको सहयोग साथै विद्यालय परिवारको उत्प्रेरणा पनि उसको विजयको आधार भएको कुरा स्पन्दनका बुबा गौतम उदासले बताउनुभयो । साथै बालबच्चाको सफलतामा अभिभावकको साथ, उत्प्रेरणा, समयले पनि महत्वपूर्ण भूमिका खेल्ने कुरामा उहाँले जोड दिनुभयो ।

सो प्रतियोगिताको चौध वर्ष मुनीको उमेर समुहमा युगल समुहमा गण्डकी बोर्डिङ स्कुलका नेहालजंग थापा र शास्वत बज्राचार्यको जोडीले कास्य पदक, सिंगलमा समता विद्यालयका सौगात वि।क। ले कास्य पदक, बाह्र वर्ष मुनीको उमेरसमुह सिंगलमा गण्डकी बोर्डिङ स्कुलका दर्शिल श्रेष्ठले कास्य पदक प्राप्त गरेका छन् ।

पोखराका विद्यालयहरु मध्येबाट सो प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलका गिर्वाण थापा, हृदय के।सी।, आर्या तझ्या, शिशु निकेतन मा।वि। का सदिक भट्टराई र कुमुदिनी होम्सका सम्यक शिल्पकार अनि फूलबारी मन्टेश्वरी कटेजका केविड मल्लले पनि प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comments