हिमाली भागमा भारी हिमपात, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले हिमाली भागमा भारी हिमपातको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविदले पश्चिम, मध्य र पूर्वी पहाडी भागमा ३ दिन पानी पर्ने प्रक्षेपण पनि गरेका छन् ।

विभागले बुधबार बिहान तीनदिने मौसमी विश्लेषण सार्वजनिक गर्दै देशको हिमाली भागमा हिमपात हुने जनाएको हो । विभागका मौसमविदहरूका अनुसार, पश्चिमी उच्च पहाडी हिमाली भू–भागसँगै मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भागमा ३ दिन भारी हिमपात हुने सम्भावना छ । हिमपातबाट यी क्षेत्रको जनजीवन प्रभावित हुने भएकाले सतर्क रहन उनीहरूले सुझाएका छन् ।

‘पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने हुँदा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरूमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ’, विभागले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै भनेको छ ।

विभागका अनुसार, आगामी शुक्रबारसम्मै यी क्षेत्र हिमपातको चपेटामा परिरहनेछन् । त्यसपछिका दिनमा हिमपात यथावत रहन्छ या हट्छ भन्नेबारे भने विभागले केही खुलाएको छैन । विभागसँग प्रविधि नभएकाले उसले ३ दिनको मात्रै मौसमी अनुमान गर्ने गरेको छ ।

पश्चिम, मध्य र पूर्वी पहाडी भागमा वर्षा

विभागका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिबाट भने पश्चिम निम्न चापीय प्रणाली विकास हुनेछ ।

हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली भए पनि पश्चिम भू–भागसँगै मध्य र पूर्वी पहाडी भूभागका एक दुई स्थानमा दिउँसो र राति हल्का वर्षाको सम्भावना मौसमविद्ले औंल्याएका छन् । मौसमविद्हरूका अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ । अनलाइनखबर

Facebook Comments