हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै

९ पुस (रासस÷सिन्ह्वा) ;राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा लामो आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ ।

यहाँ विगतमा महिनौदेखि आन्दोलन भएको थियो । त्यसका कारण पनि यहाँको आर्थिक विकास तथा क्रियाकलापहरुको अवस्था नाजुक बनेको र यसले गर्दा खाद्यान्नको आपूर्तिमा नै कमी आउने अवस्था देखिएको पाइएको हो । यहाँ विगतमा महिनौँदेखि सरकारका विरुद्धमा प्रदर्शन भएको थियो । विशेषगरी आन्दोलनकै कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा जनाइएको छ ।

राजनीतिक अस्थिरताकै कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालय पनि लामो समय बन्द रहेका थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिनुभएको जानकारीअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ । हाइटीमा दैनिक प्रशासन सञ्चालनका साथै उत्पादन र बन्द व्यापारको काम पनि हुन नसकेकोले देशको आर्थिक अवस्थाका साथै खाद्य उत्पादन पनि कम हुदै गएको उहाँको भनाई छ । उहाँले हाइटीका लाखौँ मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने उहाँले बताउनुभयो ।

एक पछिल्लो प्रतिवेदनका अनुसार अहिले पनि हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् । साथै उहाँले आगामी दिनहरुमा पनि यो समस्याको समाधान हुनुको सट्टा थप जटिल बन्दै जाने अवस्था रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घले केही समय अघि प्रकाशन गरेको ‘इन्टिग्रेटेड फेज क्लासिफिकेसन’ (आइपिसी) प्रतिवेदनमा यस्तो अवस्था रहेको पाइएको बताइएको थियो । त्यस अवस्थामा तत्कालै सुधार ल्याउन नसकिने पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Facebook Comments