हङकङमा संसारकै महँगो ‘कार पार्किङ स्पेस’

कार्तिक १०। हङकङको एक ७३ तल्ले भवन ‘द सेन्टर’ मा रहेको ‘कार पार्किङ स्पेस’ आजसम्मकै महँगो भाउमा बिक्री भएको छ । पार्किङका लागि निर्मित उक्त स्थान ९ लाख ६९ हजार अमेरिकी डलरमा बिक्री भएको हो । सञ्चारमाध्यममा आएका समाचारअनुसार यो स्पेसको आकार १३४।५ वर्गफिट रहेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, पार्किङ स्पेस बिक्री गर्ने जोनी च्युङ सुन–यीले भनेका छन्, ‘‘मैले यो चौथो तथा अन्तिम पार्किङ स्थल त्यस व्यक्तिलाई बेचेको हुँ, जसको यो बिल्डिङमा अफिस छ ।’’ तर उनले खरिदकर्ताको नाम भने बताएका छैनन् ।


हङकङमा यस्ताखाले पार्किङ स्थलको मूल्य कति महँगो हुने गर्छ भन्ने कुरो यो घटनाबाट पुष्टि हुन्छ । उक्त पार्किङ स्पेस प्रति वर्ग फुट ७२०० डलर पर्न गएको छ । अमेरिकाको म्यानहटनस्थित रियल इस्टेटको भाउअनुसार त्यहाँ प्रति वर्ग फुट १७७० डलरमात्रै कायम रहेको छ ।

यो भाउ अमेरिकाकै महँगो क्षेत्रभन्दा पनि अधि महँगो हुन गएको छ । यसको अर्थ हङकङको यो पार्किङ स्थल न्युयोर्कको लक्जरी अपार्टमेन्टभन्दा पनि महँगो रहेको देखिन्छ । हङकङको उक्त पार्किङ स्थल न्युयोर्कको महँगो अपार्टमेन्टभन्दा चार गुणा महँगोमा बिक्री भएको छ । एजेन्सी

Facebook Comments