स्वास्थ्यस्थितिबारे चासो राख्नेप्रति प्रधानमन्त्रीको धन्यवाद

काठमाडौँ, १२ मङ्सिर-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको जनाउनुभएको छ । आज सामाजिक सञ्जालमा ट्वीट गर्नुहुँदै उहाँले स्वास्थ्यस्थितिबारे चासो राख्ने र शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक धन्यवाद दिनुभएको छ ।

ट्वीटमा भनिएको छ, “बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद व्यक्त गर्दछु ।” प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा उल्लेखनीय सुधारको क्रम जारी रहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।

Facebook Comments