स्वयम्सेवी युवा उत्पादन गर्न स्काउटको तालिम शुरु

सन्देश श्रेष्ठ पोखरा, फागुन १५

स्वयम्सेवी युवा उत्पादन गर्न पोखरामा स्काउटको तालिम शुरु भएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको आयोजनामा पोखरामा स्वयम्सेवी युवा उत्पादन गर्न आधारभुत स्काउट तालिम शुरु भएको हो । सशस्त्र प्रहरी तालिम केन्द्र लामपाटनमा आयोजित तालिम विहीबारदेखि नै शुरु भएपनि शुक्रबार मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नेछन् । तालिम फागुन २० गतेसम्म चल्ने तालिम संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए ।

तालिममा गण्डकी प्रदेशका करीब ५ सय जना युवाहरु सहभागि छन् । गण्डकी प्रदेशका प्रत्येक पालिकाबाट प्रतिनिधित्व हुनेगरी स्काउटमा लागेका युवाहरुलाई तालिममा सहभागि गराइएको संयोजक भण्डारीले बताए । तालिममा नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य र विपत्तीमा कसरी काम गर्ने भन्नेबारेमापनि तालिम दिइने उनले बताए । घर र परिवारमा मात्रै केन्द्रीत युवालाई घरबाट निकालेर समाजसँग जोड्ने हो,‘उनले भने,‘जसले गर्दा उसले समाज र राष्ट्रका लागि केहि गरोस् ।’ उनले तालिम अनौपचारिक शिक्षा भएको बताए । तालिममा हामी आफैले आफैलाई कसरी ब्यबस्थापन गर्ने भन्ने सिकाउँछौं,‘एक्लै हुँदा आफैले कसरी पकाउने ? समय ब्यबस्थापन, कामको ब्यबस्थापन कसरी गर्ने भन्नेपनि सिकाउँछौं ।’

तालिममा युवालाई नेतृत्व विकास, व्यक्ति विकाससँगै नैतिकवान हुनपनि सिकाउँछौं,‘उनले थपे,‘असमानता बिचमा समानता खोज्नपनि यहिं सिकाउँछौं ।’ उनले तालिममा समाज रुपान्तरणसँगै देश विकासका लागि सामाजिक कार्य गर्नुपर्ने र त्यसका लागि युवाले नेतृत्व कसरी लिने भन्नेबारेपनि सिकाइने बताए । उनका अनुसार तालिममा विपतमा परेकाहरुको उद्धार र उनीहरुको सुरक्षाका लागि अप्नाउनुपर्ने उपायहरुबारेपनि सिकाइनेछ ।

५ सय जना सहभागि प्रशिक्षार्थीका लागि झण्डै १ सय जना स्काउट मास्टरहरुले प्रशिक्षण दिने संयोजक भण्डारीले जानकारी दिए । ३२ जना प्रशिक्षार्थीहरुको एउटा ग्रुप बनाएर उनीहरुलाई १ जना कोच लिडर र ५ जना काउन्सिलरसहित ६ जनाको टिमले नेतृत्व गरेर प्रशिक्षण दिने उनले बताए ।

प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुलाई अन्र्तराष्ट्रिय स्तरको प्रमाणपत्र दिइने नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जनाएको छ । यसरी दिइएको प्रमाणपत्र विश्वका जुनसुकै मुलुकमा पनि मान्यता प्राप्त हुने नेपाल स्काउटका निर्देशक राम भट्टराईले बताए । तर तालिम लिएका विद्यार्थीले आफू बस्ने पालिकाको स्कुल स्कुलमा पुगेर हप्ताको १ दिन ३२ जनालाई प्रशिक्षण भने दिनैपर्ने उनले जानकारी दिए । प्रमाणपत्रधारीले तालिम नदिएको पाइए प्रमाणपत्र खारेज गरिनेपनि उनले बताए ।

Facebook Comments