सोलेमानी हत्या प्रकरण: शवयात्रामा उर्लेको जनसागरले लगायो ‘डेथ टु अमेरिका’को नारा

बदला लिने सर्वोच्च नेता अयोतोल्लाह खमेनीको चेतावनी

पुस २०, २०७६ एजेन्सी : अमेरिकाद्वारा इराकमा मारिएका इरानी जर्नेल कासिम सोलेमानीको शव आइतबार इरानको अभाज शहर पुर्‍याइएको छ। हजारौं इरानीहरू शोक प्रकट गर्ने सडकमा निस्किएका छन्। उनीहरूले सोलेमानीको सम्झनामा छाती पिट्दै ‘डेथ टु अमेरिका’को नारा लगाएको एजेन्सीहरूले जनाएका छन्।  बग्दादमा अमेरिकाले गरेको ड्रोन हमलामा सोलेमानीसहित ६ जनाको ज्यान गएको थियो। सोलेमानी इरानका शक्तिशाली सैन्य नेता थिए। भनिन्छ, इरानको विदेश नीति र वैदेशिक सम्बन्ध उनकै निर्देशनमा चल्ने गर्थ्यो। इरानी रिभोल्युसनरी गार्डका जर्नेल रहेका सोलेमानीको हत्यापछि अमेरिका र इरानबीचको तनाव अभूतपूर्व रुपमा चुलिएको छ। कतिपयले अमेरिकाले ‘तेस्रो विश्वयूद्ध निम्त्याएको’ टिप्पणी गरेका छन्। सोलेमानीसँग अत्यन्तै निकट इरानका सर्वोच्च नेता अयोतोल्लाह खमेनीले हत्याको बदला लिने चेतावनी दिइसकेका छन्। विश्लेषकका अनुसार इरानले अमेरिकाविरुद्ध साइबर आक्रमण वा मध्यपूर्वका अमेरिकी केन्द्रहरूमा सैन्य आक्रमण गर्न सक्छ। अमेरिकाविरुद्ध युद्धका लागि इरान तयार, मस्जिदमा गाड्यो रातो झण्डा सोलेमानीको ज्यान लिन निर्देशन दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकाविरुद्ध कुनै गतिविधि गरेमा कडा जवाफ दिने बताएका छन्। उनका अनुसार, इरानका विभिन्न ५२ रणनीतिक तथा साँस्कृतिक महत्वका ठाउँलाई अमेरिकाले कुनै पनि बेला निशाना बनाउन सक्छ। एजेन्सीहरूले जनाएअनुसार, सोलेमानीविरुद्ध यो तहको कारबाही चलाउनेबारे अमेरिकी प्रशासनमा लामो समयदेखि छलफल चले पनि जर्ज डब्ल्यू बुस र बाराक ओबामाले ‘जोखिमपूर्ण’ भन्दै कारबाही चलाउन अस्वीकार गरेका थिए। ट्रम्पको ट्वीट हेर्दा तनावको स्तर सहजै आँकलन गर्न सकिन्छ। आइतबार धम्कीपूर्ण भाषामा उनले लेखेका छन्, ‘अमेरिकाले सैन्य हातहतियारमा मात्रै दुई ट्रिलियन डलर खर्च गरेको छ। त्यसैले हामी आकारमा ठूलोमात्रै होइन, अब्बल पनि छौं। यदि इरानले अमेरिकाको कुनै पनि आधारकेन्द्रमा हमला गर्‍यो वा कुनै पनि अमेरिकीलाई क्षति पुर्‍यायो भने हामी बिनाकुनै हिचकिटाहट केही सुन्दर हतियारहरू इरानतर्फ रवाना गराउनेछौं।’ ट्रम्पलाई जवाफ फर्काउँदै इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफले सोलेमानीको हत्या गरेर अमेरिकाले अन्तराष्ट्रिय कानूनको उल्लंघन गरेको बताएका छन्। त्यसमाथि सांस्कृतिक केन्द्रहरूलाई निशाना बनाइनु यूद्धअपराध ठहरिने जारिफको भनाइ छ। अभाज शहरमा आइतबार जे देखियो इरानको दक्षिण-पश्चिममा पर्ने अभाज शहरमा एकाबिहानै हजारौंको संख्यामा कालो कपडा धारण गरेका मानिसहरू भेला भए। उनीहरू सोलेमानीको शवयात्रामा भाग लिन भेला भएका थिए। एक स्थानीय टेलिभिजनले अभेजतर्फ उँडाउनुअघि सोलेमानीको शवलाई इरानको राष्ट्रिय झण्डा ओढाएर एअरपोर्ट लगिँदै गरेको दृष्य देखाएको थियो। मानिसहरुले सोलेमानीलाई ‘इरानी हिरो’को रुपमा श्रद्धाञ्जली दिँदै अमेरिकाप्रति आक्रोश प्रकट गरे। आफूमाथि आक्रमण गरे इरानका ५२ स्थानलाई निशाना बनाउने ट्रम्पको चेतावनी राजधानी तेहरानमा संसद बैठक सुरू हुनुअघि सांसदहरूले ‘डेथ टु अमेरिका’को नारा लगाएको त्यहाँको सरकारी सञ्चार संस्था आइएसएनए न्युज एजेन्सीले जनाएको छ। ‘डेथ टु अमेरिका’को नारा गुञ्जिँदै गर्दा सभामुख अली लारिजानीले भने, ‘डोनाल्ड ट्रम्प, सुन! यो इरानको आवाज हो।’ सोलेमानीको शवलाई आइतबार अबेरसम्ममा तेहरान फिर्ता लगिने बताइएको छ। सोमबार शवयात्रापछि तेहरान विश्वविद्यालयमा हुने शोकसभालाई सर्वोच्च नेता खमेनीले सम्बोधन गर्ने अनुमान गरिएको छ। सोलेमानीको शवलाई मंगलबार उनको गृहनगर कर्मानमा सतगत गरिनेछ। इरानमा बहुसंख्यक मानिसहरू शोकाकुल देखिए पनि इराक र सिरियाका केही स्थानमा भने केही मानिसहरू सोलेमानीको मृत्युको उत्सव मनाइका छन्। सोलेमानीले सिरियाली राष्ट्रपति बसर अल असदलाई सघाएका कारण असदविरोधीहरू उनीसँग रुष्ट रहँदै आएका थिए। ट्रम्पलाई मनपरी गर्ने छुट छ? शुक्रबार घटनालगत्तै प्रतिकृया दिँदै ट्रम्पले सोलेमानीले इराक र आसपास खटिएका अमेरिकी कूटनीतिज्ञ र सेनामाथि भयावह आक्रमणको योजना बनाएका कारण स्यमंले सोलेमानीमाथि आक्रमण गर्न निर्देशन दिएको बताएका थिए। एजेन्सीहरूका अनुसार, ट्रम्पले आक्रमणअघि कंग्रेसका कुनै पनि नेताहरूलाई त्यसबारे कुनै छनक दिएका थिएनन्। अमेरिकामा ठूलो कदम चाल्नुअघि कंग्रेसलाई जनाकारी दिने चलन छ। सन् २०११ मा पाकिस्तानमा ओसामा–बिन–लादेनमाथि कारबाही चलाउनुअघि ओबामाले सदनलाई जानकारी गराएका थिए। तर ट्रम्पले भने घटनाको ४८ घण्टापछि शनिबारमात्रै सदनलाई यसबारे औपचारिक जानकारी दिए। डेमोक्रेटिक पार्टीका नेता नेन्सी पेलोसीले ह्वाइट हाउसको क्रियाकलापप्रति आपत्ति जनाएका छन्। ‘ह्वाइट हाउसले घटनाबारे जानकारी दिन पठाएको नोटिस, घटनाको समय, तरिका र औचित्य हेर्दा ट्रम्प प्रशासनले लिएको निर्णयप्रति गम्भीर आशंका पैदा भएको छ। राष्ट्रिय सुरक्षाको सन्दर्भमा ट्रम्प प्रशासनले अमेरिकी सदन र जनतालाई कुहिरोको काग बनाएको देखिन्छ।’ आकस्मिक रुपमा गराइएको उक्त घटनाले अमेरिका र केही युरोपेली शक्तिबीचको सम्बन्धलाई पनि जटिल बनाइदिएको छ। फ्रान्सका राष्ट्रपति इमेनुअल मेक्रोनले घटनालगत्तै इराकका कार्यकारी प्रधानमन्त्रीलाई टेलिफोन गर्दै इराकी सम्प्रभूताप्रति ऐक्यवद्धता जनाएका थिए। इराकमा अमेरिकी हवाइ हमला,  मारिए इरान समर्थक कमाण्डर इराकमा भएको उक्त घटनाबारे ट्रम्प प्रशासनले इराक सरकारलाई पूर्वजानकारी दिएको थिएन। छुट्टीमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भने समाचार तयार पार्दासम्म घटनाबारे मौन छन्। अमेरिकी प्रशासन भने यूरोपको प्रतिकृयाबारे असन्तुष्ट देखिएको छ। अमेरिकी स्टेट सेक्रेटरी माइक पोम्पेओले एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘कुरा नचपाइकन भन्नुपर्दा, यूरोपेलीहरूले हामीले आशागरेअनुरुप सहयोग गरिराखेका छैनन्। ब्रिटिस, फ्रेन्च र जर्मनहरूले हाम्रो कदम उनीहरूको पनि हितमा छ भन्ने बुझ्न जरुरी छ। अमेरिकाले चालेको कदमबाट उनीहरू थप सुरक्षित भएका छन्।’थाहाखबर

Facebook Comments