सुदूरपश्चिम : मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक

तिलकराज ओझा कैलाली, २१ चैत-धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिएको युवा समाजसेवी मदन भट्टले बताउनुभयो । लकडाउनमा आय आर्जनको बाटो बन्द हुँदा असहाय, गरीबलाई रोगसँगै भोकले महामारी ल्याउन सक्ने अवस्थालाई मध्यनजर गरेर फुडबंैक स्थापना गरिएको स्थानीय युवा समूहले जनाएको छ । युवा समूहले उपमहानगरपालिका–३ को मसानटोलका दैनिक काम गरेर घर खर्च चलाउने विपन्न ९४ परिवारलाई खाद्यान्न वितरण गरिएको बताइएको छ । उपमहानगरपालिकाद्वारा लकडाउनका कारण छाक टार्न समस्या भएका करिब २०० परिवारलाई राहतस्वरुपको खाद्यान्न वितरण गरिएको छ । नगरप्रमुख नृपबहादुर वडका अनुसार राहत वितरणका लागि प्रत्येक वडामा अध्यक्षको संयोजकत्वमा सर्वदलीय तथा सर्वपक्षीय समिति गठन गरी लकडाउनले छाक टार्न समस्या भएकाको विवरण सङ्कलन गरिएको थियो । उक्त समितिले सङ्कलन गरेको विवरणका आधारमा राहत वितरण शुरु गरिएको हो । वडा नं ८ र ५ मा बिहीबार बिहानैदेखि राहत वितरण गरिएको थियो । अन्य वडामा पनि वितरणका लागि खाद्यान्न पु¥याउने काम भइरहेको बताइएको छ । धनगढी–८ का अध्यक्ष नारायणप्रसाद बरालले लकडाउनका कारण छाक नै चल्न नसकेका करिब दुई सय परिवारलाई राहत स्वरुपको खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो । त्यस्तै वडा नं ५ मा पनि खाद्यान्न वितरण गर्ने काम सुरु भएको अध्यक्ष हिरासिंह पातलीले बताउनुभयो । वडाध्यक्षको सहयोग धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष दीपककुमार थापा क्षेत्रीले दैनिक मजदुरी गरेर छाक टार्ने मजदुर, सुत्केरी महिला र अनाथका लागि खाद्यान्न सहयोग गर्नुभएको छ । वडाध्यक्ष थापाले उपमहानगरपालिकाका अन्तर्गतको नगरस्तरीय विपद् व्यवस्थापन खाद्यान्न समाग्री हस्तान्तरण गर्नुभयो । थापाले २१ कट्टा चामल, ५० किलो दाल, तीन बोरा सोयाविन, एक बोरा नुन, दुई पेटी तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको विपद् व्यवस्थापन समितिले जनाएको छ । बेहडाबाबा मन्दिरद्धारा खाद्यान्न धनगढीस्थित बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले खाद्यान्न सामग्री उपलब्ध गरेको छ । मन्दिर व्यवस्थापन सेवा समितिका सचिव पदमराज जोशीलगायतको टोलीले चामल ४८ कट्टा, आलु सात कट्टा, नुन दुई कट्टा नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई बुझाइएको छ । समितिका सचिव जोशीले अप्ठ्यारो अवस्थामा सबैलाई यसरी नै मानवीयता सम्झेर सहयोग गरिदिन आम जनसमुदायलाई अनुरोध गर्नुभयो । धनगढीको हिमशिखर सहकारी संस्थाले पनि मजदुरी गरेर खाने वर्गका लागि भन्दै २० कट्टा चामल र पाँच पेटी खानेतेललगायतका खाद्यान्न सहयोग गरेको छ । ४३ भारतीय क्वारेन्टाइनमा प्रदेशका विभिन्न स्थानमा अलपत्र परेका भारतीय नागरिकलाई धनगढी उपमहानगरपालिकाले त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरेको क्वारेन्टाइनमा राखेको छ । उपमहानगरपालिकाले अलपत्र परेका ४३ भारतीयलाई त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख वडले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय प्रशासन, नेपाल–भारतमैत्री सङ्घसँग समन्वय गरेर क्वारेन्टाइनमा राखिएको हो ।” भारतको पिथोडागढ जिल्लाको धार्चुला पुल नजिक अलपत्र परेका नेपालीलाई भारतको उत्तराखण्ड सरकारले भारतमै क्वारेन्टाइनमा राखेर सहयोग गर्ने सहमतिपछि नेपालमा अलपत्र परेका र कोरोनाको लक्षण देखिएकालाई क्वारेन्टाइनमा राखिएको प्रमुख वडको भनाइ छ । कुमारी बैंकको सहयोग सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको ‘कोरोना भाइरसको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोष’ मा कुमारी बैंक लिमिटेडले बिहीबार १० लाख सहयोग गरेको छ । बैंकका सुदूरपश्चिम प्रमुख दीपक खनालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । कुमारी बैंकको केन्द्रीय कार्यालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरी प्रत्येक प्रदेशलाई रु १०÷१० लाख सहयोग गर्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई पनि उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ । यस्तै गरिमा विकास बैंक लिमिटेड र माछापुच्छ«्रे बैंक लिमिटेडले पनि प्रदेश सरकारको सोही कोषमा रु पाँच÷पाँच लाख सहयोग गरेको प्रमुख स्वकीय सचिव वलीले बताउनुभयो । गरिमा विकास बंैकका शाखा प्रमुख यादवप्रसाद पन्त र माछापुच्छ«्रे बैंक लिमिटेडका प्रदेश प्रमुख हरिलाल ऐरले मुख्यमन्त्री भट्टलाई रु पाँच÷पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।रासस 

Facebook Comments