सामुदायिक वनको अर्काे आम्दानी लप्सीको अचार


पोखरा फागुन ०२ रासस
नेपालमा धेरै पहिलेदेखि भन्दै आइएको ‘हरियो वन नेपालको धन’ भनाइलाई पोखराको एक सामुदायिक वनका उपभोक्ताले थप चरितार्थ गर्न खोजेका छन् । वनबाट वनजन्य उत्पादनका अतिरिक्त अरु आम्दानी गरेर उनीहरुले हरियो वन नेपालको धन नै भएको पुष्टि गरेका हुन् ।

सामुदायिक वन केवल घाँस दाउराजन्य घरायसी प्रयोजनमा मात्र सीमित रहेको वास्तविकताभन्दा बेग्लै प्रयोग कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ लक्ष्मी देउरालीस्थित वनपाले सामुदायिक वनका उपभोक्ताले गरेका छन् । यस समुदायले सामयुदायिक वनबाट वनजन्य वस्तु त उपभोग गरेकै छ, यहाँ उत्पादित लप्सीबाट पनि आम्दानी हात पार्न सफल भएको छ ।  

वनपाले सामुदायिक वन समूहका अध्यक्ष टीकाराम पौडेलका अनुसार सामुदायिक वनमा रोपिएका लप्सीका बिरुवाले उत्पादन दिन थालेसँगै अचार, माडा र क्यान्डी बिक्री गरेर वार्षिक डेढ लाखभन्दा बढी आम्दानी हँुदै आएको छ ।

देशका कैयौँ ठाउँका सामुदायिक वनमा फलेको लप्सी उपयोग नहुँदा ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएकामा सामुदायिक वन उपभोक्ता महासङ्घ कास्की हरियो वन कार्यक्रमको सहयोगमा सीप, ज्ञान र प्रविधिको सहयोग लिँदै अचार, माडा र क्यान्डी बनाउन शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

उत्पादित लप्सीको विभिन्न परिकार बिक्री भइरहेको बताउँदै उहाँले बजारमा राम्रै माग भएको जानकारी दिनुभयो । वनपाले सामुदायिक वनमा लप्सीको अचार र क्याण्डी गाउँघरमा मात्र सीमित छैन, पोखरा बजारसम्म नै पुगेको छ ।

रोजगारीका सिलसिलामा विदेशमा रहेका अधिकांश नेपाली पुगेका मुलुकमा वनपाले सामुदायिक वनको लप्सीको अचार कोसेली बनेर पुग्ने गरेको समूहका कोषाध्यक्ष चूँडामणि पौडेल बताउनुहुन्छ । 

यस सामुदायिक वनमा लप्सीखेतीको भने छुट्टै कथा छ । उपभोक्ताको सक्रियतामा करिव साढे तीन दशकअघि विसं २०४२ मा तत्कालीन जिल्ला वन कार्यालयको आर्थिक सहयोगमा दुई सय लप्सीका बिरुवा रोपिएको हो । फल दिन थालेसँगै शुरुमा लप्सीको दाना बिक्री गरेका यहाँका उपभोक्ताले २०७१ सालयता लप्सीको प्रशोधन गर्दै अचार, माडा र क्यान्डी बनाउन थालेका हुन् ।

खानामा दाल, भात, तरकारीको स्वाद अचारबिना पनि अपूरो जस्तै मानिने नेपाली समाजमा बजारमा विभिन्न किसिमका अचार बिक्री हुने गरेको पाइन्छ । अचारको स्वादले खाना नै मीठो बनाउने गरेको नेपाली खानपिनको प्रचलनका कारण पनि बजारमा विविधथरी अचारको माग प्रत्येक दिन बढ्दै गएको पनि पाइन्छ ।  

नेपालका २९ पहाडी जिल्लामा लप्सी पाइन्छ । लप्सी घाँस, काठ र फलका लागि पनि उपयोगी बनस्पति हो । औषधीय गुणले भरिएको यसमा स्वस्थ शरीरका लागि आवश्यक २१ भन्दा बढी तत्व पाइने चिकित्सक बताउँछन् । लप्सीमा भिटामिन र खनिज पर्याप्त पाइने र यसले मानिसको हड्डी बलियो बनाउने उनीहरु बताउँछन् । विदेशमा समेत लप्सीको अचारको माग बढ्न थालेसँगै लप्सीखेती नेपालका लागि आर्थिकरुपमा समेत बहुउपयोगी बन्ने विश्वास लिइएको छ ।

जिल्ला घरेलु उद्योग कार्यालयमा लप्सी अचार उद्योग दर्ता गरिको छ । समूहले तयार गरेको अचार प्रतिकिलोग्राम ३२० रुपैयाँमा र गुलियो र पिरो क्यान्डी ४०० रुपैयाँमा बिक्री हुने गरेको छ । यो बिक्रीबाट मात्रै हालसम्म समूहले १० लाख रुपैयाँ आम्दानी गरेको पौडेल बताउनुहुन्छ ।

उहाँका अनुसार अचार र क्यान्डी तयार गर्नका लागि पुसदेखि फागुन महिनाभित्र लप्सी टिपिसक्नुपर्छ र त्यसपछि समूहको भवनमा ल्याइएको लप्सीको प्रशोधनका लागि तीन चरणसम्म पानीले पखालेर फलको बोक्रामा रहेको कालो ढुसी पखालिन्छ ।  

सफल भएको लप्सी पकाउने र दाना फुटिसकेपछि बियाँ, बोक्रा र गुदी छुट्याइन्छ । बियाँ र गुदीमा तेल, मेथी, जुवानो, बेसारलगायतका विभिन्न पदार्थसहित आवश्यकताअनुसारको नून चिनी मोलेर बट्टामा राखिन्छ । यसरी खान तयार गरिएको लप्सीको अचार स्वादका साथै मानवीय स्वास्थ्यका लागि बहुउपयोगी रहेको समूहको दाबी छ ।   

“ज्ञान, सीप र प्रविधिको उपयोगबाट अचार र क्यान्डी आम्दानीको राम्रो स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “वनमा २०० भन्दाबढी लप्सीका बोटमा लटरम्म फलेका प्रत्येक लप्सीका दाना सामुदायिक वनका लागि पैसाको सिक्का जस्तै बनेका छन् ।”

वनमा वर्षेनी लटरम्म लप्सी फल्न थालेको बताउँदै उहाँले यसले सिङ्गो समुदाय नै आयआर्जनमा जोडिएको बताउनुभयो । वनको संरक्षण प्रवद्र्धन एवं उपयोगका दृष्टिले उत्कृष्ट बनेकाले अघिल्लो वर्ष नेपाल सरकारबाट गणेशमानसिंह वन वातावरण राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको थियो ।

वनको संरक्षण र विकासका साथै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सो सामुदायिक वनलाई २०७३÷०७४ सालमा जिल्ला वन कार्यालय कास्कीद्वारा प्रथम पुरस्कार र प्रमाणपत्र तथा तात्कालीन ढिकुरपोखरी गाविसको २०औँ गाउँ परिषद्मा सम्मान गरिएको थियो ।

वन पैदावारको भरपुर उपयोग गर्ने हो भने आयआर्जनसँगै रोजगारीका लागि बाहिर भौतारिनु पर्दैन भन्ने कुरालाई बनपालेले प्रमाणित गरेको उक्त सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष सुशीला पौडेलले बताउनुभयो ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा यसै वर्ष वन क्षेत्रमा तीन हजार उन्नत जातका लप्सीका बिरुवा रोपिएको बताउँदै उहाँले यस्ता बिरुवा विशेष गरेर छिटो फल दिने र टिप्नसमेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

समूहको सक्रियतासँगै अघिल्लो वर्ष डिभिजन वन कार्यालयले लप्सीको प्रशोधनलगायतका उपयोगका लागि भवन निर्माणलगायतमा १६ लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै हरियो वन कार्यक्रमले लप्सीको बोक्रा सुकाउने सोलार, लेभलिङ मेसिन, लप्सी टिप्ने औजार आदिसहित नगद दुई लाख रुपैयाँ सहयोग गरेको थियो ।

सामुदायिक वन उपभोक्ता महासङ्घबाट समूहले चार लाख रुपैयाँ अनुदान सहयोग प्राप्त गरेको छ । आयआर्जनसँगै समूहले चार लाख रुपैयाँको घुम्ती कोष खडागरी विपन्न वर्गका उपभोक्तालाई आयआर्जनसँग जोड्न बाख्रापालन, बेमौसमी तरकारीखेती, कुखुरापालन, बङ्गुरपालन, एवं व्यापार व्यवसायमा सहयोग पु¥याएको छ । 

समूहका सदस्य शोनिया विकका अनुसार घुम्ती कोषमार्फत गरिएको सहयोगसँगै यहाँका स्थानीयमा उद्यमशीलताको विकास हुँदै गएको जानकारी दिनुभयो । न्यून ब्याजमा ऋण प्रवाह गरिने भएको हुँदा पनि विपन्न वर्गका उपभोक्तालाई जीविकोपार्जनमा सहयोग पुगेको छ ।

वनको लप्सी टिपेर अचार तथा क्यान्डी बनाएसँगै विदेशमा समेत राम्रो माग भएका कारण समुदायका सदस्यलाई पनि थप उत्साहित बनाएको बताउँदै उहाँले हरियो वन कार्यक्रममार्पmत तीन वटा प्यानका सोलारमा अहिले लप्सीका बोक्रा सुकाई राखिएको छ । सुकेको बोक्रालाई मेसिनमा पिसेर धुलो बनाएर बिक्री गरेर पनि थप आम्दानी गर्ने लक्ष्य समूहले लिएको छ ।

पोखरा बागलुङ राजमार्ग खण्डमा पर्ने सो सामुदायिक वनमा अन्य आम्दानीको भने कुनै पनि स्रोत नभएको र वनभरि कटुस, चिलाउने, तिजुलगायतका प्रजातिको झाडी रहेको छ । कास्की जिल्लाको उत्तर पश्चिमीस्थित लगभग एक हजार ५०० मिटरको उचाइमा अवस्थित १६ हेक्टर क्षेत्रफलमा पैmलिएको सो सामुदायिक वनमा १६९ घरधुरी उपभोक्ता रहेका छन् । 

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका सचिव ठाकुर भण्डारीका अनुसार मुलुकका २२ हजारभन्दा बढी सामुदायिक वनलाई उत्पादनसँग जोड्नारभन्दा बढी सामुदायिक वनलाई उत्पादनसँग जोड्न 
Facebook Comments