सहकारी समृद्ध नेपाल निर्माणको प्रमुख आधार हो :जि.सी.

पोखरा, १ मंसिर-राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले समृद्ध नेपाल निर्माणको प्रमुख आधार सहकारी भएकाले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकारको ध्यान जानु पर्नेमा जोड दिनुभएको छ ।
पोखरा महानगरपालिका वडा नं. ८ स्थित नागढुंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।
सहकारी व्यक्तिलाई सक्षम, सवल र धनी बनाउने व्यवसाय हो, हरेक नेपालीको हातमा एउटा व्यवसाय वा रोजगार मध्ये एक भएमा मात्रै समृद्ध नेपाल निर्माण हुने भन्दै उहाँले त्यसका लागि सहकारी उपयुक्त र प्रमुख विकल्प भएको दावी गर्नु भयो ।
सहकारी सामाजिक न्याय सहितको सदस्य केन्द्रीत व्यवसाय हो, यसलाई विशुद्ध नाफामुलक वा पूर्ण सेवा मुलक हिसावले व्याख्या विश्लेषण गर्ने र सोही अनुरुप काम गर्ने प्रवृति बढेको उहाँको गुनासो थियो ।
सहकारीको पहिलो काम आफ्ना सदस्यलाई आर्थिक रुपमा सम्पन्न, सामाजिक रुपमा सक्षम र सांस्कृतिक रुपमा सभ्य बनाउनु हो, जिसीले भन्नुभयो –‘सहकारी अन्य व्यवसाय भन्दा फरक र सदस्यको आर्थिक विकाससंगै सामाजिक र सांस्कृतिक रुपान्तरणको एक अभिन्न अंग हो ।’
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सञ्चालक संगिता गौतम तिमल्सिना, बचत तथा ऋण सहकारी संघ कास्कीका सचिव दिपक आचार्य, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका कर्मचारी अमृत श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष महेश शर्मा लामिछानेको स्वागत र कोषाध्यक्ष तारानाथ ढुंगानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभामा ९८ वर्षीय जेष्ठ नागरिक चिनकाजी गुरुङ लगायत उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
साधारणसभाले संस्थाका सचिव शंकर सुवेदीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष ढुंगानाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक कृष्णप्रसाद शर्मा तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको हो ।
७ सय ३३ जना शेयर सदस्य रहेको संस्थामा २ करोड २ लाख शेयर रकम, १७ करोड ७१ लाख बचत, २० करोड ७० लाख कर्जा लगानी र २४ करोड कुल कारोबार रहेको सो अवसरमा जानकारी गराइएको थियो ।
साधारणसभाले महेश शर्मा लामिछानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी, सचिव शंकर सुवेदी, कोषाध्यक्ष तारानाथ ढुंगाना तथा सदस्यहरुमा श्यामबहादुर थापा, टिकाराम आचार्य, कृष्णप्रसाद शर्मा तिम्सिना, सुशिल लामिछाने र उर्मिला गुरुङ रहनु भएको छ ।
साधारणसभाबाट लेखा समितिको संयोजकमा ओम पुन तथा सदस्यहरुमा सुजाता रानाभाट र सरिता घिमिरे चयन भएको निवर्तमान अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments