सवारी नियम मिच्नेलाई न्यूनतम २ हजार जरिवानाको प्रस्ताव

काठमाडौं ९ पुस । सरकारले सवारी नियम उल्लंघन गर्नेमाथि हुने जरिवाना रकम अझै बढाउन प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले तयार गरेको नयाँ यातायात व्यवस्था ऐनको प्रारम्भिक मस्यौदामा चर्को जरिवानाको प्रस्ताव गरिएको हो ।

हाल सवारी नियम मिच्नेलाई न्युनतम ५ सय र अधिकतम ५ हजार जरिवाना गराउने प्रावधान छ । अब आउने ऐनले यसलाई बढाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । जरिवाना बढाउँदा सवारी नियम उल्लंघनमा कमि आउने उनको दावी छ ।

अब न्यूनतम जरिवाना रकम नै २ हजार पु¥याउने र अधिकतम एक लाखसम्म कायम गरिने प्रस्ताव मस्यौदामा छ । यद्यपि, ऐनको मस्यौदामाथि सरोकारवालासँग छलफल सुरु भएकाले त्यसमा हेरफेर हुनसक्ने विभागले जनाएको छ । कसुरको प्रकृतिअनुसार सजाय रकम बढाउनेदेखि लाइसेन्स निलम्बन र खारेज गर्नेसम्मको प्रावधान राखिएको विभागका एक अधिकारीले बताए ।

विद्यमान नियमअनुसार लाइसेन्स नलिई सवारी चलाएको भेटिएमा २ हजार रुपैयाँ जरिवाना लाग्छ । प्रस्तावित ऐनमा यसलाई थप वृद्धि गर्न प्रस्ताव गरिएको छ । दर्ता नगरी सवारी चलाएको भेटिएमा चालकलाई पनि जरिवाना हुनेछ । त्यस्ता सवारीलाई सरकारले जफतसमेत गर्नेछ ।

स्वीकृति नलिई सवारीसाधनले सिट थपेमा वा सवारीको स्वरुप, इन्जिन तथा च्याचिसमा परिवर्तन गरेमा पनि लाग्ने जरिवाना बढाइँदैछ । खासगरी पछिल्लो समय युवा पुस्तामा मोटरसाइकललाई स्टाइलिस बनाउने नाममा स्वरुप परिवर्तन गर्ने प्रचलन बढेको छ । उनीहरुलाई लक्षित गरी यस्तो जरिवाना बढाउने प्रस्ताव गरिएको हो ।अनलाइनखबर डट कम बाट

Facebook Comments