समस्यामा परेकालाई पोखरा महानगरले खाना खुवाउने

पोखरा, ५ वैशाख

पोखरा महानगरपालिकाले लकडाउनका कारण खाद्यान्नको अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई निशूल्क खाना खुवाउने भएको छ । महानगरले बनाएको लाभग्राही छनोट मापदण्ड अनुसार राहत पाउनबाट वञ्चित भएका तथा समस्यामा परेकालाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।

महानगर प्रमुख जिसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा महानगरले पूर्ण र आशिंक प्याकेज गरी १९ हजार २ सय २० घर परिवारलाई राहत वितरण गरिसक्दा पनि राहत नपाएको गुनासो आएपछि गुनासो छानबिन गरी केहीलाई घरघर र बसेकै ठाउँमा पुगेर राहत वितरण गरिएको जानकारी गराउँदै अबदेखि समस्यामा परेकाहरुलाई खाना खुवाउन लागिएको उल्लेख गरिएको छ । ‘लकडाउनका कारण खाद्यान्न अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘खाद्यान्न नभएर समस्यामा परेकाहरुलाई पायक पर्ने ठाउँमा पुगेर खाना खान अनुरोध छ ।’

लकडाउन उलंघन नहुने गरी भौतिक दूरी कायम गरी खाना खान सेवाग्राहीलाई अनुरोध गर्दै सोही अनुसार व्यवस्था मिलाउन वडा कार्यालयलाई विज्ञप्तिमा अनुरोध गरिएको छ । ‘सामान्य दाल, भात र सम्भव भएसम्म तरकारीको व्यवस्था गर्छौ’, मेयर जिसीले भने,‘पोखरा महानगर भित्र बस्ने कोही मान्छे पनि भोकै बस्नु नपरोस भन्ने हाम्रो चाहाना हो, साँझ र बिहान पेट भर्ने व्यवस्था महानगरले गर्छ ।

यस्तो संकटको बेलामा मिठो नमिठो भन्ने कुरा हुँदैन ।’महानगरले यी व्यवस्था गर्दा गर्दै पनि कोही कसैले राहत वा खाना खान नपाए महानगरको पैसा नलाग्ने हटलाइन नम्बर ११८१ मा सम्पर्क गर्न अनुरोध गर्दै विज्ञप्तिमा तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । राहत तथा खाना खुवाउने अभियानमा सघाउन आम नगरवासीलाई अपील गर्दै प्रमुख जिसीले जारी गरेको विज्ञप्तिमा सहयोग गर्न चाहनेले पोखरा महानगरको हटलाइन नम्बर ११८१ वा वडा अध्यक्षलाई सम्पर्क गरी खाद्यान्न सहयोग गर्न सकिने छ ।

‘विषम पस्थितिमा राहत वितरणलाई व्यवस्थित र एकद्वार प्रणाली मार्फत गर्ने व्यवस्था महानगरपालिकाले मिलाएकोले विभिन्न संघ, संस्था तथा व्यक्तिलाई आफूखुसी राहत वितरण नगर्न अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा पोखरा नगर भित्रका किसानले उत्पादन गरेको तरकारी लगायत खाद्यान्न बिक्री नभएको भए महानगरको कृषि महाशाखा मार्फत् बिक्रीको व्यवस्था महानगरले मिलाएको पनि उल्लेख गरिएको छ । ‘बाहिरी जिल्लाबाट तरकारी आयात र बिक्री वितरणलाई भन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सम्बन्धित सरोकारावाला सबैलाई अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ । नगरवासी लगायत समस्यामा परेका आम जनताको गुनासो सुन्न र जोखिममा परेकाहरुको उद्धार गर्न महानगरले फोन गर्दा पैसा नलाग्ने हटलाइन नम्बर ११८१ सञ्चालनमा ल्याएको जानकारी गराउँदै विज्ञप्तिमा उक्त नम्बरमा फोन गरेर आफ्नो समस्या टिपाउन सकिने उल्लेख गरिएको छ ।

समस्यामा परेका नागरिकलाई खाना खुवाउने व्यवस्थापन पौरखी स्वयम सेवी समूहले गर्ने महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । उनका अनुसार खाना खुवाउने निश्चित ठाउँ वडामा व्यवस्था नहुँदासम्म पौरखी स्वयम सेवी समूहले निशुल्क रुपमा प्याकिङ खाना उपलब्ध गराउने छ । खानाको लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को कारणले गत चैत ११ गतेदेखि देशमा बन्दाबन्दी (लकडाउन) हुँदा दैनिक क्रियाकलाप असहज बनेको उल्लेख गर्दै जिसीले जारी विज्ञप्तिमा यस विषम र संकटपूर्ण अवस्थामा महानगरवासीको जीवन रक्षालाई नै पहिलो प्राथमिकतामा राखेर सोही अनुसार योजना बनाई महानगरपालिकाले कार्य गरिरहेको उल्लेख छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महानगरले थालेको अभियानमा नगरवासीले पु¥याउनु भएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ।‘यो परिस्थितिमा नगरवासीका हरेक समस्यालाई सम्भव भएसम्म तत्काल समाधान गर्ने दायित्व र जिम्मेवारीप्रति प्रतिबद्ध छौं ।’

Facebook Comments