सभापतिले पार्टीलाई विधिहिन् बनाउन खोजे : केसी

सन्देश श्रेष्ठ पोखरा, पुस २० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बहुमतको आधारमा विधान लत्याएको स्वीकाय नहुने चेतावनी दिएका छन् । प्रेस यूनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीलाई विधिहिन् बनाएको स्वीकार्य नहुने बताएका हुन् ।

नेकपाको सरकारलेजस्तै पार्टी सभापतिलेपनि विधिहिन् बनाउन खोजेको उनको आरोप छ । सभापतिले एकपक्षीय रुपमा विधिहिन् बनाएर पार्टीमा एकलौटी गर्न खोजेको उनले आरोप लगाए । सभापतिजिले पार्टीलाई विधिहिन् बनाउन खोजे,‘उनले भने,‘तर विधिहिन् बनाएको स्वीकार्य हुँदैन, विधान लत्याएको स्वीकार्य हुँदैन ।’ उनले बरिष्ठ नेता रामचन्द्र पौडेलजस्तै पार्टी सभापतिले चालेको एकपक्षीय कदमको आफूहरुलेपनि बिरोध गरेको जानकारी दिए । सभापतिको कदम नसच्चिएसम्म आफूपनि पार्टीको बैठकमा नजाने अडानसमेत उनले व्यक्त गरे ।

नेता केसीले छिट्टै सहमतिको विन्दु भेटिने विश्वास व्यक्त गरे । सँधै यसरी जाँदैन,‘प्रयास भइरहेकै छ । पक्कैपनि सहमतिको विन्दु भेटिन्छ ।’ उनले कांग्रेस नेतृ सुजाता कोइरालाले भनेजस्तो कांग्रेसलाई भोट हाल्दा हात काँप्ने स्थिति नभएको जिकिर गरे । उहाँले कुन विषय र प्रसङ्गमा त्यस्तो भन्नुभयो मलाई थाहा भएन,‘उनले भने,‘तर भोट हाल्दा हात काँप्ने स्थिति त छैन, अरु त उहाँको व्यक्तिगत कुरा हो ।’

नेता केसीले नेकपा नेतृत्वको सरकारले संविधानलाई रक्षा कवच बनाएर भ्रष्टचारको दलदलमा देशलाई फसाएको आरोप लगाए । भ्रष्टाचार, मूल्य बृद्धि र करको भारका कारण जनता आक्रान्त भएको उनले बताए । उनले भ्रष्टाचारमा जो संलग्न भएपनि कार्वाही हुनुपर्ने बताए । कुन पार्टी र त्यसको के हैसियत छ भनेर होइन,‘उनले भने,‘एनसेल, वाइडवडी, गोकर्ण रिसोर्टदेखि वालुवाटारकाण्डसम्ममा जो जो मुछिएका छन् उनीहरुलाई कार्वाही गरे हुन्छ ।’ उनले अरु पार्टीका नेतालाई देखाएर आफ्ना पार्टीकालाई चोख्याउन खोजेको आरोप लगाए । निश्पक्ष ढंगले छानविन गरेर कार्वाही गर्ने आँट गरे भ्रष्टाचारमा जोकोहि परेपनि कांग्रेसले सहयोग गर्ने उनले बताए ।

नेता केसीले देश एकपछि अर्को गर्दै कम्युनिष्ट एकदलीयवादमा फस्दै गएकोसमेत टिप्पणी गरे । सामाजिक सञ्जालमाथिको नियन्त्रण, मानव अधिकार, प्रस जगतलाई कुण्ठित पार्दै लोकतान्त्रक अधिकारलाई नियन्त्रण र संकुचित गर्ने प्रयास वर्तमान सरकारले गरिरहेकाले सरकार कम्युनिष्ट एकदलीय र नियन्त्रणमुखी समाजतर्फ उन्मुख भएको प्रष्ट हुने उनको भनाई छ ।

प्रेस युनियन कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रविना आलेले स्वागत र सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए ।

Facebook Comments