सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) :प्रदेश ३ को नाम बागमती र राजधानी हेटौँडा कायम गर्ने निर्णय

पुस १३, २०७६ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौँडा कायम गर्ने निर्णय लिएको छ। आइतवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय लिँदै त्यही अनुसार नाम र राजधानी कायम गर्न मातहतको कमिटीलाई निर्देशन दिएको हो। नेकपाको आइतवार बसेको बैठकले दिएको निर्देशनको जानकारी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलकहाँ पनि पुगेको छ। ‘नेकपाले गरेको निर्णयबारे हामीकहाँ जानकारी आइसकेको छ’, मुख्यमन्त्रीका एक सहयोगीले भने, ‘नाम बागमती र स्थायी राजधानी हेटौँडालाई नै कायम गर्नू भन्‍ने निर्देशन प्राप्त भएको छ। अब प्रदेश सभाको दुईतिहाइले यसमा निर्णय लिनेछ।’ प्रदेश ३ को राजधानीलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ। मुख्यमन्त्री डोरमणि पौडेल राजधानी हेटौँडामै राख्ने अडानमा छन्। नामबारेमा पनि विभिन्‍न विवाद सिर्जना भएका छन्।  प्रदेश ३ को राजधानी सुरुमा भक्तपुर हुनुपर्ने माग भएको थियो। हेटौँडा अपायक हुने भन्दै त्यसपछि काभ्रेको बनेपा-धुलिखेलका लागि तीव्र लविङ भएको थियो। नुवाकोटले समेत राजधानी दाबी गर्दै आएको छ।  सिन्धुपाल्चको, नुवाकोट र काभ्रेसहितका जिल्लाले हेटौँडा अपायक हुने भन्दै त्यसको विरोधमा उत्रिएका थिए। तर अस्थायी राजधानी रहेकै हेटौँडामै राजधानी कायम गर्ने पक्षमा नेकपा उभिएको हो ।थाहाखबर

Facebook Comments