“संस्थागत भ्रष्टाचार हुँदा मौन ? नेपाल ट्रष्टको जग्गा यतिलाई दिने काम अपारदर्शि” :डा.महत(video)

by:aarju

“गोपनियताको हकलाई समाप्त गर्न खोजिएको छ, हामी मान्दैनौं”
आरजू विष्ट सल्यानी
पोखरा, माघ ०६

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले दुई तिहाईको बहुमतको सरकारसंग जनता सन्तुष्ट नभएको बताउनु भएको छ । नेपाल स्थिरतातिर जानुपर्ने हो, आर्थिक वृद्धिले फड्को मार्नु पथ्र्यो, जनताका आवस्यक्ता र दैनिक क्रियाकलाप सहज हुनु पर्नेमा सरकार उल्टो दिशामा हिडेकोले जनतामा व्यापक असन्तुष्टि बढेको बताउनु भयो ।

नेपाल प्रेस यूनियन कास्कीले सोमवार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. महतले सत्ताधारी दलले निर्वाचनको बेलामा जनतालाई दिलाएको आश्वासनमाथि घात गरेको बताउनु भयो । उहाँले भन्नुभयो ः“चुनावको बेलामा भनेको देशलाई आर्थिक संमृद्धिको बाटोमा लैजाने कुरा त कहाँ हो कहाँ, आफैं निर्णय गर्न सक्ने अवस्थामा छैन ।”

सरकारले सम्पूर्ण ध्यान नियन्त्रण र निषेधमा केन्द्रीत गरेको छ । “सत्तामा आयौं, जनताले जिताए र हामीले शासन गर्ने लाईसेन्स पायौं” भन्ने मानसिकतामा सरकार चलेकोले देश निरासाबाट गुज्रिएको छ, डा.महतले भन्नुभयो :“अहिले हरेक क्षेत्रमा संस्थागत भ्रष्टाचार भईरहेको छ, राष्ट्रिय सम्पतिको दुरुपयोग भईरहेको छ, यति ग्रुपको हातमा सम्पूर्ण देशको ट्रष्टको सम्पतिलाई एकपछि अर्को गर्दै जिम्मा लगाउने काम अपारदर्शि ढंगबाट भईरहेको छ र चर्को स्वरमा कराउने नेताहरु मौन भएका छन् ।”

देशको राष्ट्रिय अखण्डता र अस्मितामा प्रश्न उठ्दा उहाँहरु मौन रहनु भएको छ । कतिपय विधेयक संसदमा प्रस्तुत भएका छन्, ति सम्पूर्णको उदेश्य हकाधिकार, जनाधिकार र प्रेस स्वतन्तत्रालाई कुण्ठित गर्ने खालका छन्, डा.महतले भन्नुभयो :“सामाजिक संजालमा सर्वसाधारणले आफ्नो मत राख्न सक्ने अवस्थालाई प्रतिवन्ध लगाउने, ठूलो जरिवाना र सजायको प्रस्ताव अगाडी वढाउन खोजिएको छ, गोपनियताको हकलाई समाप्त गर्न खोजिएको छ, हामी मान्दैनौं, त्यसको विरोध गरिरहन्छौं ।”

सुधारको संकेत पनि देखिएको छैन, जनताको मतको सम्मान भएको छैन । दुई महिनासम्म सभामुख को निर्वाचनको कुरालाई लिएर अनिर्णयको वन्दि बनेको कुरा बिचित्रको छ, संसद बस्न सकेन । नेपाली कांग्रेसले जनविरोधी विधेयकको विरोध गरिरहेको छ, रोक्ने प्रयास गरिहेका छौं, डा.महतले भन्नुभयो ः“तर के गर्ने सरकारका मान्छेहरु सबैलाई थाहा छ, आफैं बाँझिरहेका छन् एमसिसि परियोजनाको बारेमा, यसमा अन्यथा सोच्नुपर्ने कारण नै छैन ।”

म मन्त्री हुँदा चीनसंग बेल्ट एण्ड रोड इनिसियटिभ, बीआरआईमा हस्ताक्षर गर्यौं । शेरबहादुर देउवाको पालामा एमसिसिमा हस्ताक्षर भयो । त्यति ठूलो अनुदान रकम नेपालको पूर्वाधार विकासको लागि हो तर बहुमतको सरकारभित्र बबण्डर मच्चेको छ, अफवाहलाई मलजल गरेका छन् सत्ताधारीले, डा.महतले भन्नुभयो :“के भईरहेको होला ? यो दूरभाग्य हो ।” हामीले हेर्ने भनेको नेपाली जनताको हितको लागि हो, एमसिसि विशुद्ध नेपाली जनता र देशको स्वार्थको लागि हो सहर्ष स्वीकार गर्नुपर्छ ।”

प्रतिपक्षिको भूमिका राम्रो भएन नि ? भन्ने प्रश्नमा डा.महतले भन्नुभयो :“जतिपनि काण्डहरु भएका छन्, संबैधानिक कारबाहिको माग गरेका छौं, कुरा के स्पष्ट हो भने सत्ता पक्षका नेताहरुको ठूला काण्डमा संलग्नता देखिन्छ, उहाँहरुले प्रयोजित रुपमा झटारो फाल्दिनुहुन्छ, विषयलाई अर्कोतिर लानुहुन्छ, यदि बिपक्षिले गरेको भए छोड्नु हुन्थ्यो ?” कम्यूनिष्ट पार्टीको वरिष्ठ नेताले जग्गा किनबेच गर्या छ, कसैले छुन्छ यहाँ ? स्पष्ट छ नि, ।

स्ववियू निर्वाचन एकपक्षिय घोषणा, सहमतिबिना मान्य हुँदैन

एक फरक प्रसंगमा नेता महतले आगामी फागुन १४ हुने भनिएको स्ववियू निर्वाचनको बारेमा नेवि संघसंग कुनैपनि छलफल र सहमति नगरी घोषणा गरिएकोले मान्य नहुने बताउनु भयो । उसो भए निर्वाचन हुन नदिने ? भन्ने पत्रकारको प्रश्नमा महतले भन्नुभयो :“हामीसंग सल्लाह नगरीकन त्रिविविले निर्वाचन तोकेको छ, नेवि संघलाई विश्वासमा नलिएर एकपक्षिय घोषणा भएको छ, हामी चुनावको पक्षपाती हौं तर नेवि संघको सहभागितामा निर्णय हुनुपर्छ, कुन मिति सबैको लागि उपयुक्त हुन्छ, सामुहिक रुपमा सहमति गरेर तोक्नुपर्छ ।”

यसअघि सहभागिलाई प्रेस यूनियन कास्कीका उपाध्यक्ष प्रकाश सापकोटाले स्वागत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता प्रेस यूनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले गर्नुभएको थियो ।

photo:aarju
Facebook Comments