संविधान विपरीत अध्यादेश किन ल्याईयो ? “अनुचित र देशको लागि अनिष्टकारी” :नेता रावल

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ०९

शासन सत्ता चलाई रहेको नेकपाभित्र चलेको आन्तरीक शक्ति संघर्षको फलस्वरुप देशको राजनीति अस्थिरताको मोडतिर जाने त होईन ? भन्ने चिन्ता व्यक्त हुन थालेको छ ।

दल विभाजन सम्वन्धिको प्रावधानलाई कमजोर बनाएर अध्यादेश जारि गरिएपछि स्वयं सत्तासिन पार्टीका नेता, सत्ता बाहिरका दलका नेता तथा अधिकारवादी संस्थाले देश दलदलमा फस्ने चेतावनि दिएका छन् । मानव अधिकार तथा शान्ति समाजलले चौतर्फि विरोधको आव्हान पनि गरिसकेको छ ।

यसैबीच, सत्तारुढ दलका एक प्रभावशाली नेता भीम रावलले कोरोनाभाइरस को संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रालाई एकतावद्ध गरी अगाडी वढ्नु पर्ने अवस्थामा पार्टीमा कुनै छलफल नै नगरी पार्टी विभाजनलाई सहज तुल्याउने, संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्नेगरि अध्यादेश ल्याईनु अनुचित र देशको लागि अनिष्टकारी भएको बताउनु भएको छ ।

मंगलवार ट्वीट गर्दै नेता रावलले देशमा राजनीतिक स्थायित्व कायम गरी वाह्य चलखेल बन्द गर्ने ध्ययले राजनीतिक दलहरुबीच निकै लामो छलफल र परामर्श पछि सहजै पार्टी फुटाउन नसकिने गरि राजनीतिक दल सम्वन्धि कानून ल्याईएको स्मरण गराउनु भएको छ ।

तत्कालिन नेकपा एमालेको निकै ठूलो प्रयास पछि संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो । तर यस्का विरुद्ध ल्याईएका दुवै अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र वाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको रावलले लेख्नु भएको छ । नेता रावले यस्ता अनुचित र अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ भन्दै ट्ीवीट गर्नुभएको छ । फोटो :पाठकपत्र डट कम

Facebook Comments