संघियताले राष्ट्र र जनतालाई के दियो ? भनेर बहस शुरु हुनु दुर्भाग्यपूर्ण : सांसद कुमार खड्का {भिडियो सहित}

आरजू विष्ट सल्यानी
पोखरा, असोज २६

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद कुमार खड्काले दुःख, कष्ट, त्याग र समर्पणले मुलुकमा संघियता ल्याएकोमा अहिले त्यत्रो मेहनत गरेर ल्याएको संघियताले जनतालाई के दियो, राष्ट्रलाई के दियो ? भनेर अर्को बहस शुरु हुनु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाली राजनीतिलाई पछिल्लो समयमा एउटा उचाई दिन सक्नुभएन, ठूला कुरा गर्नुभयो, खड्काले भन्नुभयो ः“अन्तरीक्षका कुरा, घर घरमा ग्याँस आउने कुरा, पानी जहाँज लगायतका ठूला कुरा र प्रतिवद्धाता अनुसार प्रतिफल नआएपछि जनतामा निरासा छायो ।” खड्काले देशमा नकारात्मक रुपमा परिस्थिति ढल्केर जाने हो कि भन्ने चिन्ता नेपाली कांग्रेसलाई बढेको बताउनु भयो ।

चीयापानमा सहभागि कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरु

नेपाली कांग्रेस कास्कीले आज पार्टी कार्यालय चिप्लेढुंगामा आयोजना गरेको चीयापान कार्यक्रममा सरिक हुनुभएका सांसद खड्काले रेडियो अन्नपूर्णसंग केहिबेर समसामयिक राजनीतिका बारेमा कुराकानि गर्दै विभिन्न कालखण्डका आन्दोलनमा दलहरुलाई जनताले सडकमा निस्केर साथ दिए तर दलहरुले, स्वयं कांग्रेसले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्नुभयो । खड्काले सरकारले बाटो बिराईसकेकोले नेपाललाई अवन्नतिको बाटोमा जानबाट रोक्न पनि नसक्ने भएको आरोप लगाउनु भयो ।

आगामि मंसिर १४ गते कास्कीको क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । कांग्रेसको लागि महत्वपूर्ण छ ? भन्ने प्रश्नकम खड्काले उपनिर्वाचनको लागि नेपाली कांग्रेसले आफुलाई बलियो बनाएर उभिएको दावि गर्नुभयो । निर्वाचनलाई हामीले अवसरको रुपमा लिन्छौं, खड्काले भन्नुभयो ः“गएको निर्वाचनको पपुलिष्ट भोट, स्वतन्त्र भोट, सरकारप्रतिको आक्रोस र निरासाको कारण जित कांग्रेसकै हुन्छ ।”

अर्को प्रसंगमा चिनियाँ राष्ट्रपति सि चीनफिङको नेपाल भ्रमणको बारेमा बोल्दै खड्काले राष्ट्रहितका कुनैपनि सम्झौतालाई नेपाली कांग्रेसले समर्थन गर्ने तर नेपाली जनतालाई ऋण बोकाएर गरिने कुनैपनि सन्धि सम्झौता अस्वीकार गर्ने बताउनु भयो ।

चीनले बीआरआई परियोजना ल्यायो र नेपालले आफ्नो हित हुन्छ भनेर हस्ताक्षर गरिसकेको छ, अर्कोतिर अमेरीकाको ईण्डोप्यासिफिक रणनीति आएको छ, यस्का बारेमा तपाँईको बिचार के हो ? भन्दा खड्काले भन्नुभयो ः“हामीले जहिले पनि लिने नीति भनेको असंलग्न परराष्ट्र नीति हो, त्यो भनेको कुनैपनि राष्ट्रको पक्ष भएर जाने होईन, ईन्डोप्यासिफिक अहिले विवादीत बनेको छ, नेपालको हित गर्दैन भने जाने कुरै हुँदैन ।”

यसैबिच, नेपाली कांग्रेस कास्कीले आज आयोजना गरेको चीयापान कार्यक्रम निकै सफल र उत्साहजनक सहभागिता भएको प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले प्रतिक्रिया दिनुभयो । कार्यक्रममा कास्कीमा क्रियासिल दलका नेता तथा शुभेच्छुकहरुको सहभागिता थियो ।

चीयापानमा सहभागि कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरु

Facebook Comments