श्रीलंका :भाइ राष्ट्रपति र दाइ प्रधानमन्त्री

एजेन्सी/ कोलोम्बो, मंसिर ५-लंकाका नवनिर्वाचित राष्ट्रपति गोटभाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिएसँगै बुधबार गोटभायाले ७४ वर्षीय दाइ महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। महिन्दा राजापाक्षेले बिहीबार ७० वर्षका भाइ गोटभायासँग पद तथा गोपनियताको सपथ लिने छन्। सपथ लिएको केहीबेरमा उनले मन्त्रीमण्डल विस्तार गर्ने श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्।

महिन्दा प्रधानमन्त्री बनेसँगै टापु राष्ट्र श्रीलंकाको सत्ताको साँचो ४ वर्षअघिजस्तै राजापाक्षे परिवारमा आएको छ। महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए। गोटभायालाई उनले रक्षा मन्त्री बनाएका थिए। यी दुई दाजुभाइले सन् २००९मा २५ वर्ष लामो तमिल विद्रोह दबाएका थिए।

राजापाक्षे दाजुभाइ।

त्यही बेला बनाएको ‘टर्मिनेटेर’ को छविले गोटभायाले गत शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा प्रतिष्पर्धी उम्मेद्वार सतिस प्रेमदासालाई हराएका थिए। गोटभायाले सात महिनाअघि इस्टर दिन भएको आतंकवादी हमलाबाट त्रसित श्रीलंकालीलाई आफूले देशको रक्षा गर्ने वाचा गरेका थिए।

श्रीलंकामा कसरी उदाए गोटभाया

टापु राष्ट्र श्रीलंकामा सरकार परिवर्तन भएको छ। गत शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा ७० वर्षीय गोटभाया राजापाक्षे निर्वाचित भएसँगै हिन्द महासागरको बीचमा रहेको श्रीलंकामा सरकारमात्र परिवर्तन भएको छैन सत्ताको चाबी फेरि राजापाक्षे परिवारमा आएको छ।

सत्ताको चाबी राजापाक्षे परिवारमा आएसँगै अब श्रीलंकाले भारत र चीनसँग कस्तो सम्बन्ध बनाउँछ भन्ने चासो बढेको छ। किनकी गोटभायाका दाजु महिन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकामा शासन गर्दा चीनसँग नजिकिएका थिए। चीनसँग राजापाक्षेको ‘दोस्ती’ले छिमेकी भारत चिढिएको थियो।

गोटभाया राष्ट्रपति चुनिनुमा भने बाह्य सम्बन्ध नभई आन्तरिक कारणको ठूलो भूमिका छ। त्यसमा पनि १० वर्षअघि तमिल विद्रोही समूह लिट्टेलाई पराजित गर्दा बनाएको गोटभायाको ‘टर्मिनेटर’को छविले उनलाई सर्वोच्च पदमा पुग्न सघाएको छ।

सैनिक पृष्ठभूमिका गोटभायालाई २५ वर्ष लामो तमिल अल्पसंख्यकको विद्रोह समाप्त पारेको जस जान्छ। गोटभायाले सन् २००५ मा श्रीलंकाका रक्षा मन्त्रालय सम्हालेका थिए। उनी रक्षामन्त्री भएको चार वर्षपछि सन् २००९ मा लिट्टेका नेता भिल्लुपिल्लाई प्रभाकरण मारिएका थिए। अर्थात् नामजस्तै (गोटभायाको अर्थ भयंकर हुन्छ) उनी भयंकर सावित भए।

श्रीलंकामा सिंहाली समूदायको बाहुल्य छ। सिंहाली समूदायमा गोटभायाको कडा स्वभाव र कुशल रणनीतिले तमिल विद्रोही सकिएको प्रभाव परेको थियो।  

सात महिनाअघि श्रीलंकामा २५९ जनाको ज्यान जाने गरी इस्टर आक्रमण भयो। तमिल विद्रोह सकिएपछि राजधानी कोलोम्बोमा भएको त्यो सबैभन्दा ठूलो आक्रमण थियो। राष्ट्रपति मैत्रीपाला सिरिसेना प्रशासनको गुप्तचरी, सुरक्षा रणनीतिको कमजोरीले आतंकवादी समूह आइएसले आक्रमण गर्न सकेको भन्दै आलोचना भयो।

भारतीय र अन्य विदेशी जासुसी निकायले आक्रमण हुन सक्ने विस्तृत  सूचना दिँदादिँदै पनि कट्टरपन्थी इस्लामिक आक्रमण रोक्न नसकेको भन्दै आमश्रीलंकाली आक्रोशित भएका थिए। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सुरक्षा निकायले सम्भावित आक्रमणको सूचना आफूसम्म नल्याएको र आक्रमण रोक्न प्रयास नगरेको भन्दै प्रहरी प्रमुखलाई हटाएका थिए भने रक्षा सचिवलाई राजीनामा दिन भनेका थिए।

आमनागरिकमा सुरक्षा फेरि मुख्य मुद्दा बन्यो।  इस्टर आक्रमणपछि बौद्ध धर्मालम्बीले आफ्नो सुरक्षाका लागि बलियो सरकार र नेता चाहिने ठाने।

गोटभायाका लागि यो सुनौलो अवसर बन्यो। चुनावी प्रचारमा उनले  आफ्नो छवि लिट्टेलाई निर्मुल पार्ने युद्ध नायकका रूपमा प्रस्तुत गरे।

‘आतंककारीहरू ठाउँ ठाउँमा बम राखिदिन्छन्। हामीलाई पर्याप्त सुरक्षा छैन। हामीलाई आफ्नो मातृभूमिका लागि पिताजस्तो व्यक्तिको जरूरी छ,’ राजापाक्षेका एक समर्थकले बिबिसीसँग भने।

दशकअघिको त्यही टर्मिनेटर छविले गोटभायाको पक्षमा लहर बन्यो। उनले चुनावी प्रचार यसरी गरे कि देशमा खतरा आयो भने त्यसलाई खत्तम पार्न उनीमात्र सक्षम छन्।

गोटभायाको उदयमा पारिवारीक विरासतले पनि भूमिका खेल्यो। राजापाक्षे परिवार ब्रिट्रिस उपनिवेशकालदेखि नै श्रीलंकाको राजनीतिमा छ।

गोटभायाका बुवा स्वतन्त्रता सेनानी थिए। पछि उनी श्रीलंकाका उपसभामुख र मन्त्री बने।  गोटभायाका ९ भाइबहिनीमध्ये दुई जना दाजु अहिले पनि सांसद छन्।

‘टर्मिनेटर’ भनिने गोटभाया विवादरहित भने छैनन्।  तमिल विद्रोहीलाई दबाउने क्रममा श्रीलंकामा गोटभायाको दुई छवि बनेका थिए। सिंहाली समूदाय उनलाई युद्ध नायक ठान्थ्यो भने तमिलका नजरमा उनी युद्ध अपराधी थिए, अहिले पनि छन्।

‘मलाई लाग्दैन कि मेरो छोरो फर्केर आउँछ तर म दुनियाँलाई गोटभायाको अत्याचारबारे भन्न चाहन्छु,’ एक तमिल बाबुले बिबिसीसँग भनेका छन्।

लिट्टे समाप्त पार्न मात्र होइन अमेरिका गएर उतैको नागरिकता लिएको  र भ्रष्टाचार गरेको आरोप पनि गोटभायामाथि छ।

सेनाबाट अवकास पाएपछि सन् १९८८ मा उनी अमेरिका गएका थिए। अमेरिका बस्दा उनले लसएन्जलसको लोयाला ल स्कुलको प्रशासनमा काम गरेका थिए।   

गोटभाया यी आरोपलाई अस्वीकार गर्छन्। अब राष्ट्रपति होउन्जेल उनीविरूद्ध कुनै मुद्दा दर्ता हुने छैन।

गोटभायाको उदयसँगै श्रीलंका फेरि चीनसँग नजिकिएला त? भन्ने प्रश्न पनि उब्जेको छ। महिन्दाको शासनकालमा चीनले श्रीलंकामा ठूलो लगानी गरेको थियो। हम्बानटोटा बन्दरगाह उनकै पालामा बनेको हो।

पदभार ग्रहण समारोहमा बोल्दै गोटभायाले आफ्नो सरकारको विदेश सम्बन्ध तटस्थ रहने र विश्व शक्ति राष्ट्रबीच हुने शक्ति संघर्षबाट टाढै रहने बताएका छन्।

इस्टर आक्रमणपछि १५ वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदरबाट गुज्रिरहेको श्रीलंकाली अर्थतन्त्रलाई उकास्न र अन्तर्राष्ट्रिय सञ्जाल भएका आइएसजस्ता आतंकवादी समूहबाट देशको सुरक्षा गर्न उनलाई छिमेकी (विशेष गरी भारत) र शक्ति राष्ट्रसँग बलियो र विश्वासनीय सम्बन्धको खाँचो हुन सक्छ, सेतोपाटीले छापेको छ ।

Facebook Comments