विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन

दीननाथ बराल पोखरा ३, माघ । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको आज (शुक्रवार) दिउँसो करिब ३ः०० बजे मणिपाल शिक्षण अस्पताल उपचारकै क्रममा निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

निमोनियाका कारण थापाको उपचारकै क्रममा निधन भएको अस्पतालका चिकित्सकले जनाएकाछन्। करिब एक महिना अघि पनि मुटु, छाती सहितको समस्याले एक हप्ता जसो मणिपाल शिक्षण अस्पतालमा उपचार पश्चात उनी आफ्नो डेरा पोखराको सृजनाचोकमा फर्किएका थिए । खगेन्द्रको अन्तिम दाहसंस्कार भने शनिबार पोखरामा शव यात्रा सहित गरिने भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर रानाले बताए ।

उनका अनुसार बिहान करिब ११ः०० बजे मणिपाल शिक्षण अस्पतालबाट नदीपुर, महेन्द्रपुल नयाँबजार हुनै रामघाटमा पुगेर अन्तिम दाहसस्कार गरिने भएको छ । खगेन्द्रका बाबु रुप बहादुर थापा, आमा धन माया थापा र भाई महेश थापा रहेकाछन्। खगेन्द्र थापा मगरलाई मणिपाल, फेवा सिटी सहितका केही अस्पतालले सहयोग गर्दै आएका थिए ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो । उनको अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरी उपचार गर्दै गर्दा शुक्रबार निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर रानाले बताए । खगेन्द्र शारीरिक रुपमा समेत कम तौल तथा सहज ढंगले हिड्न नसक्ने अबस्थामा रहेका थिए ।

खगेन्द्रमा यसअघी स्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थियो । बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात २२ दशमलव ०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो । गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारण छ महिनापछि मात्र उनको रेकर्ड आधिकारिक रुपमा प्रमाणित गरिएको थियो ।

धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र पोखराको सृजनाचोकमा बस्दै आएका थिए । बाबु रूप बहादुर थापा मगर र धनमाया थापा मगरका पुत्रका रुपमा खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्म भएको बेला खगेन्द्र मात्र ६ सय ग्रामका थिए । २०६१ फागुन २५ गते अध्यक्ष रानाको पहलमा खगेन्द्र पोखरा आएका हुन्। खगेन्द्र विभिन देश तथा गिनिज बुक अफ द रेकर्डको टोलीको निम्तोमा अमेरीसम्म पुगेको थिए ।

Facebook Comments