विकको हत्या अभियोगमा श्रीपाली पक्राउ

सन्देश श्रेष्ठ पोखरा, पुष १४ । कास्कीको माछापुच्छ्रेमा डेढ तोला सुनका लागि एक बृद्धाको विभत्स हत्या भएको छ । कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानकी ६६ वर्षिया बृद्धा चिजाकुमारी विकको डेढ तोला सुनका लागि विभत्स हत्या भएको हो । म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नम्बर ५ घर भई पोखरा–२५ हेमजामा बस्दै आएका खिमबहादुर श्रीपालीले ति बृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ । ज्याला मजदुरी गर्दै आएका श्रीपालीले बृद्धाले लगाउँदै आएको डेढ तोला सुनको लोभले हत्या गरेको स्विकारेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले बताए । श्रीपालीले हत्या स्विकारिसकेको छ,‘एसपी कार्कीले भने,‘अहिलेसम्म सुन डेढ तोला भन्ने भएको छ, तर अझै धेरै हो कि भनेर अनुसन्धान जारी राखेका छौं ।’

घट्ना विवरण अनुसार हत्या अभियोग लागेका खिमबहादुर गत पुष ६ गते साँझ करीब ८ बजे मृतक विकको घरमा पुगेका थिए । रक्सी खान भनि पुगेका उनले रक्सी लागेको बहाना बनाउँदै राती पौने १० बजे आजको राज यतै बस्नु प¥यो भनेपछि मृतकका नाती नाता पर्ने छिमेकीले भान्छा कोठामा ओछ्यान मिलाई दिएर आफ्नो घर गए । मादक पदार्थ सेवन गरेका उनले राती करीब पौने १० बजे विकलाई टाउको र अनुहारमा झण्डै २ किलोको ढुंगाले प्रहार गरी हत्या गरे । हत्यापछि मृतक विकले लगाएको सबै गहना निकाले र मृतकलाई ओछ्यानमा सुताएर ६ वटा सिरक र ब्ल्याङ्केटसमेत ओढाए । आफू भने घरको ढोकामा बाहिरबाट ताल्चा लगाएर हिंडे ।

हत्या गरेपछि खिमबहादुर राती हिंड्दै हेमजा आएर बसे र भोलिपल्ट पुष ७ गते विहान पोखरा–२७ स्थित एक सुनचाँदी पसलमा आफूले लुटपाट गरेर ल्याएको मध्ये आधा सुन बेचे । बाँकी सुन लिएर तनहुँको ब्यास २ पुगेका उनले सोहि दिन साँझ आफूसँग भएको सबै सुन बेचे । सुन बेचेर आएको रकमले नजिकैको फर्निचर पसलमा गएर खाटलगायतका आवश्यक सामान खरिद गरेर तनहुँको ब्यास–१ स्थित एक घरमा कोठा भाडामा लिइ बस्न थाले ।

यता प्रहरी भने हत्याको खबरलगत्तै हत्याराको खोजिमा जुट्यो । हत्या भएको दिन एक व्यक्ति राती बास बस्न पुगेको भन्ने खबर पाएपछि प्रहरीले आफ्नो अनुसन्धानको सूई त्यसतर्फै केन्द्रीत ग¥यो । नभन्दै प्रहरीले खिमबहादुरलाई तनहुँ ब्यास नगरपालिका वडा नम्बर २ उत्तरशिला फिल्म हल नजिकैबाट पक्राउ ग¥यो । अनुसन्धानका क्रममा उनले हत्या स्विकारेको एसपी कार्कीले जानकारी दिए । ‘हत्या मात्रै हो वा हत्या अघि वलात्कार वा वलात्कारको प्रयासपनि भएको हो भन्नेतर्फपनि अनुसन्धान केन्द्रित गरेका छौं’–उनले भने ।

हत्या अभियोग लागेका खिमबहादुरलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । उनलाई हत्यासहित चोरी डकैती मुद्धा दायर गरिने एसपी कार्कीले बताए ।

प्रहरीले खिमबहादुरसँग सुन खरिद गर्ने सुन पसलेहरुलाईपनि पक्राउ गरेको छ । सुन खरिद गरेको बिल भर्पाई नभई सुन खरिद गर्न नपाइने नियम हुँदाहुँदै बिना बिल भर्पाई सुन खरिद गरेकाले उनीहरुबिरुद्धपनि मुद्धा दर्ता गरिने एसपी कार्कीको भनाई छ ।

हत्या अभियोग लागेको खिमबहादुर मजदुरी गर्ने क्रममा महिलाहरुसँग सम्पर्क बढाई विहे गर्ने आश्वासन दिदै सँगै बस्ने र पछि छाडेर भाग्ने गर्नुका साथै साथीभाईसँगपनि सरसापट गरेर पैसा नतिरि हिंड्ने गरेको अनुसन्धानका क्रममा खुलेको एसपी कार्कीले जानकारी दिए ।

Facebook Comments