वालिङको एकै गाउँमा ८० लाखको सुन्तला

दीननाथ बराल पोखरा २२, पुष । स्याङजाको वालिङ स्थित एकै गाउँमा ८० लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको छ । वालिङको एलादी–४ खाल्टेमा ३२ घर परिवार भएको एकै गाउँमा यस बर्ष करिब ८० लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको स्थानिले बताएकाछन् ।

स्थानिय ३२ घरबाट करिब ११ हजार भन्दा बढी सुन्तलाको वोटबाट यस बर्ष करिब ८० लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको सुन्तलावारी होमस्टेका संयोजक तथा स्थानिय कृषक मोहन खनालले बताए । उनका अनुसार हाल समय अनुसार सुन्तलाको मुल्य निर्धारण गरिएको छ ।

गाउँमै सुन्तला प्रति केजी ६० देखि ६५ रुपैयामा बिक्रि भएको छ । उक्त होमस्टेको प्रबद्र्धन गर्न सुन्तला वारी सामुदायिक होमस्टे र स्याङजा क्यानोनिङ पर्यटन प्रबद्र्धन समितिको आयोजनामा खाल्टेमा सुन्तला वारी महोत्सव भएको थियो ।

खल्टेका हरेक घर परिवारले न्यूनतम एक लाख ५० हजार देखि १२ लाखसम्म यस बर्षको सिजनमा सुन्तलाबाट आम्दानी गर्न सफल भएको स्थानिय एक कृषक क्या.डिलक्रिकम गुरुङले बताए । उनले यस बर्ष करिब ५ सय सुन्तलाको वोटबाट करिब ५ लाख रुपैयाको आम्दानी गर्ने लक्ष्य राखेकाछन्। उनले गत बर्ष राम्रो सुन्तला फल्दा करिब ८ लाख रुपैया आम्दानी गर्न सफल भएका थिए ।

स्थानिय कृषक सुवेदार मेजर खेमराज गुरुङले यस बर्ष करिब ९ लाख ५० हजारको सुन्तला उत्पादन गर्ने लक्ष्य राखेकाछन्। गत बर्ष उनले करिब ८ लाखको सुन्तला बिक्रि गरेका थिए । सरकारी पक्षबाट समेत आफुनो सुन्तला वारीमा राम्रो उपस्थिती रहेको समय समयमा राम्रो रेखदेख गरेकोले गर्दा आफुहरु यस पेशामा प्रोत्साहित भएको उनले जनाए ।

यस बर्ष असिना परेकोले गर्दा केही सुन्तला उत्पादनमा कमी आउने भएको उनले जनाए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुन्तला सुपर जोन कार्यक्रम समेत उक्त गाउँमा संचालन भएको छ । आफुहरुलाई सुन्तलाको हाइब्रिड बिउ भन्दा हाइ टेक्नोलोजि, प्र्रविधि, कृषि प्राविधिक र अनुदान आवश्यक भएको सु.मे.गुरुङले बताए ।

खाल्टे क्ष्ोत्रमा यस बर्ष करिब ५ सय हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको सुन्तला बगैचा व्याबस्थापन समितिका संस्थापक पुर्व सचिव शेरबहादुर गुरुङले बताए । गाँउका घर घरमा सुन्तला खेतिसंगै गाँउमा सुन्तला वारी होमस्टेले गर्दा गाँउमा आयआर्जन गर्न सहज भएको उनले बताए । स्थानियको हाल मुख्य आय सुन्तला भएको छ अर्को आम्दानीको श्रोत हुन थालेको छ होमस्टे । स्थानिय १३ घरमा हाल संचालनमा आएको होमस्टेमा एकै रातमा करिब ३० जनालाई व्यबस्थापन गर्न सकिने भएको सुन्तला वारी सामुदायिक होमस्टेका संयोजक खनालले जनाए ।

प्रति पर्यटकको १ हजार १ सय रुपैयामा आवासिय सहितको सुविधा उपलब्ध गर्न सक्ने भएको छ । बेलुकाको खाजा, खाना एक रात बसेको र विहानको खाजा समेत त्यस भित्र समेटिएको होमस्टे समितिले जनाएको छ ।

Facebook Comments