वर्डक्याम्प पोखरा–२०१९ को तयारी तीव्र, मंसिर २१ र २२ गते पोखरा ग्रान्डमा

अनलाईनअन्नपूर्ण/पोखरा मंसिर ९-वर्डप्रेस पोखराको आयोजनामा पोखरामा दोस्रो पटक वर्डप्रेस सेमिनार ‘वर्डक्याम्प पोखरा–२०१९’ हुने भएको छ ।

गतवर्ष राजधानी बाहिर पहिलोपटक पोखरामा सफलतापूर्वक वर्डक्याम्प सम्पन्न गरेको वर्डक्याम्प पोखराले दोस्रो पटक पनि उत्साहका साथ वर्डक्याम्प आयोजना गर्न लागेको हो ।
यही मंसिर २१ र २२ (डिसेम्बर ७ र ८) गते दुई दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन समारोह होटल पोखरा ग्रान्डमा हुने कार्यक्रम संयोजक पितमबहादुर सेनले जानकारी दिए ।

उक्त दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन नेपाल, भारत, बङ्गलादेश, जापान, अमेरिकाबाट आएका विषयविज्ञबाट सूचना प्रविधिका विषयमा प्रशिक्षण हुने भएको छ ।

यस्तै, दोस्रो दिन अर्थात योगदान दिवसको दिन वर्डप्रेसका विभिन्न विधामध्ये भाषा अनुवाद, थिम रिभ्यु तथा सपोर्टका विषयमा प्रशिक्षण दिइने भएको छ । दोस्रो दिनको कार्यक्रम भने कार्यशालासहित सञ्चालन हुने भएकाले पोखराको रानिपौवास्थित इन्फमेटिक्स कलेजमा हुने भएको छ ।

कार्यक्रममा भाग लिनका लागि आगामी मंसिर १४ गते भित्र नाम दर्ता गराउनका लागि एक हजार पाँच सय शुल्क निर्धारण गरिएको र त्यो भन्दा पछि दर्ता गराउनेको हकमा दुई हजार लाग्ने अर्थ संयोजक प्रतिमा शर्माले जानकारी दिइन । उक्त रकममा सहभागिका लागि निःशुल्क प्रशिक्षण सँगै कार्यक्रम अवधिभर खाजा, खाना र टि–सर्टको व्यवस्था गरिने जनाइएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । तीन सय बढीको सहभागिता रहने अनुमान गरिएको कार्यक्रम सम्पन्न गर्नका लागि झण्डै १० लाख खर्च हुने अर्थ संयोजक शर्माले जानकारी दिइन् ।

कार्यक्रमबाट वर्डप्रेसमा व्यवसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति तथा कम्पनी, सूचनाप्रविधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरी ख्याति प्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी लाभ लिन सकिने आयोजक संस्थाले जनाएको छ ।

स्मरण रहोस्, वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प भएको थियो । नेपालका सन्दर्भमा सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ ।

वर्डक्याम्पबारे थप जानकारीका लागि www.2019.pokhara.wordcamp.org मा पनि हेर्न सकिने आयोजकले जनाएको छ ।

Facebook Comments