लोकतन्त्र भनेको अराजकता वा छाडातन्त्र होइन: मुख्यमन्त्री

सन्देश श्रेष्ठ पोखरा, पुस २४ । गण्डकी प्रदेशको हिउँदे अधिवेशन शुरु भएको छ । गण्डकी प्रदेश सभाको पाचौं अधिवेशनका रुपमा बुधबारदेखि हिउँदे अधिवेशन शुरु भएको हो । हिउँदे अधिवेशनको पहिलो दिन सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको हिउँदे अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाए ।

हिउँदे अधिवेशनको पहिलो दिन प्रदेश सभामा प्रतिनिधित्व गर्ने ४ दलका संसदीय दलका नेताहरुले सम्बोधन गरे । बुधबारको प्रदेश सभा बैठकलाई नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले सम्बोधन गरेका थिए ।

प्रदेश सभामा बोल्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लोकतन्त्रमा सबै कुराको सीमा हुने बताए । लोकतन्त्र भनेको छाडातन्त्र वा अराजकता नभएको बताउँदै उनले भने,‘लोकतन्त्रमा सबैको सीमा हुन्छ, लोकतन्त्रमा सीमा नाघ्नु भनेको अराजकता निम्तिनु हो, छाडातन्त्र आउनु हो, त्यसैले सीमा त हुनैपर्छ ।’ उनले प्रेस, न्यायालयदेखि हरेक कुरामा सीमा हुनु स्वाभाविक भएको बताए ।

मुख्यमन्त्री गुरुङले संघीयता हेर्दा केहि महङ्गो भएपनि यो जनताको पक्षमा रहेको जिकिर गरे । संघीयता खारेजीको बारेमा भइरहेको बहसबारे प्रसङ्ग कोट्याउँदै उनले भने,‘संघीयता झट्ट हेर्दा केहि महङ्गोजस्तो लाग्न सक्छ, तर बास्तविक जनता र सेवाग्राहीका लागि यो महत्वपूर्ण छ ।’ संघीयताले जनतालाई सहज र घरदैलोमै सेवा लिएर पुगेको उनको भनाई थियो । उनले केहि स्थानिय तहले स्यालुट गर्नेगरी काम गरेको र जसका कारण जनतामा आशा र भरोसा जागेको उल्लेख गरे ।

मुख्यमन्त्री गुरुङले लिम्पीयाधुरा र लिपुलेक नेपालको भएको प्रमाण सरकारले खोजिरहेको बताए । लिम्पीयाराधुरा, लिपुलेक र कालापानीलगायतका सीमा सम्बन्धी विवाद अहिलेको नभई पहिलेकै भएको बताउँदै उनले भने,‘तर अहिलेको सरकारले दरोसँग कुरा उठाएको छ, सिंगो नेपाललाई यस विषयमा एकजुट बनाएको छ ।’ उनले भाषण गरेर र गाली गरेर मात्र सीमा सम्बन्धी विवाद समाधान नहुने भन्दै कुटनीतिक माध्यमबाट समाधान खोजिनुपर्ने भएकाले सरकारले सोहि रणनीति अनुरुप प्रक्रिया अघि बढाइरहेको उल्लेख गरे ।

ठूलो देशसँग सीमा सम्बन्धी आवाज उठाउँदा सरकार ढल्छ कि भन्ने हिजोको दास मानसिकताका कारण सीमा सम्बन्धी विवाद समाधान नभएको तर अहिले स्थायी सरकार आएपछि त्यस्तो मानसिकताबाट देश मुक्त भइसकेकाले सरकारले दरोसँग आवाज र पहल गरिरहेको उनको दाबी छ ।

मुख्यमन्त्री गुरुङले फेवातालको सीमा संघ सरकारले छुट्याउन ढिलाई गर्दा फेवाताल संरक्षणमा ढिला भएको बताए । संघ सरकारले सीमा तोकिदिए प्रदेश सरकार सिमाङ्कन गरेर सीमा संरक्षण गर्न तयार रहेको बताए । उनले तत्कालिन राजाका हिउँदे दरबारका रुपमा पोखरामा रहेको हिमागृह र रत्न मन्दिर नीजि क्षेत्रलाई कुनैपनि हालतमा नदिइने स्पष्ट पारे । नेपाल ट्रष्टले हिमागृह र रत्न मन्दिर सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिने मौखिक प्रतिबद्धता जनाइसकेको उनले बताए । यो सर्वसाधारणको लागि सञ्चालनमा आएपछि पर्यटनमा टेवा पुग्ने उनको भनाई छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले यो वा त्यो बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुण्ठित पार्ने प्रयास भइरहेको बताए । संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गरेपनि अहिले कुल्चने कामभइरहेको उनको भनाई थियो । उनले हिजो नेपालको भूमि अतिक्रमण गरेर अहिले नक्सामै राख्ने छिमेकी देशका कारण देशको राष्ट्रियता कमजोर बन्दै जाँदापनि सरकार निरिह बनेको उनले बताए । साथै उनले एमसीसीमार्फत सहयोग दिन्छु भन्दा त्यसलाई हस्तक्षेप र नियन्त्रण देख्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताउँदै त्यसरी देश समृद्ध नबन्ने बताए । एमसीसी स्विकारेर जानुपर्ने उनको भनाई थियो ।

राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले बजेट बिनाको संघीयताले देश समृद्ध नबन्ने बताउँदै संघीयता देशका लागि घाँडो बनेको बताए । उनले कार्यकुशलता नदेखाई संघीयता लागु गरिरहने हो भने देश असहमति र असफलतातर्फ जाने चेतावनीसमेत दिए । थापाले देशमा भ्रष्टाचार बढेको, महङ्गी र अखाद्य वस्तुको मिसावटले बजार थलिदासमेत सरकार मुकदर्शक बनेको उनको आरोप छ । साथै उनले एमसीसीमार्फत नेपालको सुरक्षा निकायलाई नियन्त्रण गर्ने प्रयास भइरहेको भन्दै यस्तो कार्य स्वीकार्य नहुने भएकाले एमसीसी अस्वीकार गर्नुपर्नेमा जोड दिए ।

समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले देशमा बेथिति र संकट ब्याप्त रहेको तथा एमसीसी, एनसेल, सुनकाण्डदेखि वालुवाटारलगायतका काण्डैकाण्ड भइरहेको भन्दै यसका कारण आउँदो पुस्ताले धिक्कार्ने स्थिति सिर्जना नहोस् भने । सरकार मनपरी र स्वेच्छाचारी बन्दा प्रतिपक्षी भने आलोचनात्मक चेत हराएकोजस्तो बनेको टिप्पणी गरे । उनले संघीयता हात्तिको देखाउने दाँतजस्तो मात्र भएको तर व्यवहारमा भने लागु नभएको बताए ।

प्रदेश सभाको अर्को बैठक पुस २४ गते विहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेश सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्बिर सन्देश

Facebook Comments