लेखनाथ महोत्सव पुष ३ गतेदेखि, तयारी अन्तिम चरणमा

सन्देश श्रेष्ठ पोखरा, पुष १ । पोखराको लेखनाथमा विहीबारदेखि लेखनाथ महोत्सव शुरु हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुष ३ गतेदेखि शुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पुष १५ गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धी’ भन्ने मूल उद्घोषका साथ हुने महोत्सव औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानिय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको संघले जनाएको छ ।

त्यस्तै आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधी हस्तान्तरण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजहरुको जगेर्ना गर्दै आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको प्रमुख उद्धेश्य रहेको संघका अध्यक्ष ढकालले बताए । महोत्सवले समग्र गण्डकी प्रदेशकै आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पुग्ने उनले बताए ।

महोत्सवमा कुल ३४० वटा स्टलहरु रहने र त्यसमध्ये अटोका ७, शैक्षिक प्रदर्शनीका ९, कृषिका ३५, किचनका ्२७, मेसिनरीका २०, ह्याण्डिक्राफ्टका १२, गार्मेन्टका १००, जनरलका २६, फुड एण्ड वेभरेजका २०, डेरीका ६, सूचना तथा प्रविधीका ३२, रेष्टुरेण्टका १६, वैंक तथा वित्तिय संस्थाका ३० वटा स्टलहरु रहने जनाइएको छ ।

महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ । त्यस्तै फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्रीहरुपनि महोत्सवमा राखिने महोत्सव प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्रराज सुबेदी (राजु)ले जानकारी दिए ।

महोत्सवमा सूचना प्रविधी तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधीहरुपनि प्रदर्शनी गरिनेछ । त्यस्तै फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारीपनि राखिने सुबेदीले बताए ।

महोत्सवको आकर्षणको रुपमा माछा, मह र कफी हुने भएको छ । लेखनाथ क्षेत्रका ताल तथा पोखरीमा उत्पादन भएका माछाहरु बिक्रीका लागि राखिने जनाइएको छ । बेगनासताल, रुपातालसहित त्यस आसपासका पोखरीमा उत्पादित माछा बेच्नका लागि राखिने प्रचार संयोजक सुबेदीले जानकारी दिए । त्यस्तै लेखनाथ तथा आसपासका क्षेत्रमा उत्पादन भएका कफीका साथै महसमेत बिक्रीका लागि राखिने उनले बताए । महोत्सवमा बाल उद्यानसमेत आकर्षणका रुपमा रहने आयोजकको दाबी छ । साना साना बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्म भुल्ने र झुल्नेगरी बाल उद्यान तयार गरिएको सुबेदीले बताए ।

महोत्सवको अवसरमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट हुने भएको छ । लोकदोहोरीमा प्रजापति पराजुली, पशुपति शर्मा, पुरुषोत्तम न्यौपानेदेखि कृष्ण देवकोटासम्मले प्रस्तुती राख्नेछन् भने चर्चित व्याण्डहरुले साँझमा स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा आयोजना हुँदै आएको गण्डकी तारा र रत्यौली प्रतियोगिताका यसअघीका बिजेताहरुको प्रस्तुती दैनिक रुपमा रहने सुबेदीले जानकारी दिए ।

महोत्सवको अवसरमा आयोजकले यसपटक खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसर पारेर कविता प्रतियोगिता आयोजना गरिएको महोत्सव संयोजक तथा संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

महोत्सवमा प्रवेशका लागि दिउँसो ६० रुपैयाँ टिकटदर कायम गरिएको आयोजकले जनाएको छ । विद्यार्थीलाई भने छुटमा ४० रुपैयाँ निर्धारण गरिएको अध्यक्ष ढकालले बताए । त्यस्तै साँझको कन्सर्टका लागि १०० रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिए । बृद्धबृद्धा, अपाङ्गता भएका र एकल महिलालाई भने निःशुल्क प्रवेशको ब्यबस्था गरिएको उनले बताए ।

महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । महोत्सवमा करीब १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताए । महोत्सवबाट १ करोड ३० लाख आम्दानी हुने र १ करोड १० खर्च भई २० लाख बचत हुने अनुमान गरिएको उनले बताए । बचत रकम प्रदर्शनी स्थलको स्तरोन्नती, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा खर्च गरिने उनले जानकारी दिए ।

Facebook Comments